उत्तर कोरियाले किमको हत्या गरेको आरोप

  • 19 फेब्रुअरी 2017
तस्वीर कपीराइट AFP
Image caption किम जङ अनले अहिलेसम्म नमको निधनबारे प्रतिक्रिया सार्वजनिक गरेका छैनन्

दक्षिण कोरियाले किम जङ नमको हत्यामा उत्तर कोरियाली सत्ता संलग्न रहेको विश्वास लिएको बताएको छ।

सोलका एकता मन्त्रालयका प्रवक्ताले भने, "पाँचजना संदिग्धहरु उत्तर कोरियाली रहेकाले हामी उत्तर कोरियाली सत्ताले नै किम जङ नमको हत्या गरेको हो भन्ने विश्वास गर्छौं।"

मलेसियाली प्रहरीले एकजना उत्तर कोरियालीलाई गिरफ्तार गरिसकेको छ र चार थप उत्तर कोरियालीको खोजी गरिरहेको बताएको छ।

हत्यामा उत्तर कोरियाको हात रहेको व्यापक अनुमान गरिएपनि अहिलेसम्म त्यसको कुनै प्रमाण फेला परेको छैन।

इन्टरपोल

प्योङयाङले अहिलेसम्म यो मुद्दामा कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।

मलेसियाली प्रहरीले संदिग्धहरुको नाम सार्वजनिक गरेको छ र इन्टरपोलसँग अनुरोध गरेको बताएको छ।

मलेसियाको प्रहरीले उत्तर कोरियाली नेता किम जङ अनका सौतेनी दाइको राजनीतिक हत्यामा संलग्न भएको विश्वास गरिएका थप चारजना व्यक्ति पहिचान गरेको छ।

किम जङ नममाथि कुआलालम्पुर विमानस्थलमा रासायनिक पदार्थ छर्किएको केहीबेरमै उनको मृत्यु भएको थियो।

प्रहरीले नयाँ चार पुरुष संदिग्धहरु पहिचान गरेको छ जो साधारण राहदानीमै अपराध भएको दिन मलेसियाबाट उडेर बाहिर गएका थिए।

उनीहरुको खोजीका लागि इन्टरपोललाई सम्पर्क गरिएको छ।

एक महिलासहित चारजनालाई यस अघि नै गिरफ्तार गरी थुनामा राखिएको छ।

प्रश्न

तस्वीर कपीराइट AFP
Image caption किम जङ नमले उत्तर कोरियाली सरकारको आलोचना गर्दै आएका थिए

अब किम जङ नमको शव के गर्ने भन्ने प्रश्न उठेको छ।

मलेसियाली कानुन उल्लेख गर्दै प्रहरीले नमका नजिकका नातेदारले उनको शव दावी गर्न दुई हप्ताको समय दिएको छ।

किम जङ नमका बच्चाहरुले त्यो काम गर्न सक्ने कि नसक्ने स्पष्ट छैन।

विश्व सेवा एशिया प्रशान्त सम्पादक सीलीया ह्याटन भन्छिन्, "शायद अनुसन्धानकर्ताहरुले छुट्टिएर बसेका उनका सौतेनी भाइ- उत्तर कोरियाली नेता किम जङ अनप्रति पो लक्षित गरेका हुन् कि।"

अहिले किम जङ नमको हत्याको आदेश किम जङ अनको निर्देशनमा भएको भन्ने धेरैले सोचिरहेका छन्।

किम जङ नम कुनैबेला उत्तर कोरियामा शासन गर्ने सूचिमा थिए तर उनका बाबु किम जङ इलको समर्थन गुमाएपछि उनी निर्वासनमा बस्दै आएका थिए र उनका सौतेनी भाइले सत्ता हातमा लिएका थिए।