दक्षिण सुडानमा भोकमरी घोषित

  • 20 फेब्रुअरी 2017
सुडानी जनता तस्वीर कपीराइट AP

दक्षिण सुडानको सरकार र संयुक्त राष्ट्रसंघले दक्षिण सुडानका केही भागमा भोकमरीको समस्या भएको घोषणा गरेका छन्।

करीब १ लाख मानिस भोकमरीबाट पीडित रहेको र थप १० लाख मानिस भोकमरीबाट पीडित हुने अवस्थामा पुग्न लागेको सरकार र संयुक्त राष्ट्रसंघले बताएका छन्।

गृहयुद्ध र आर्थिक संकटका कारण त्यस्तो भएको बताइएको छ।

यमन, सोमालिया र उत्तरपूर्वी नाइजेरियामा पनि भोकमरीको चेतावनी दिइएको छ, तर भोकमरीको घोषणा गर्ने दक्षिण सुडान पहिलो देश हो।

भोकमरीले दक्षिण सुडानको युनिटी राज्यलाई प्रभावित गरेको छ र तुरुन्तै सहायता नगरिएमा संकट बढ्न सक्ने परोपकारी समूहहरुले चेतावनी दिएका छन्।

खानाको अभाव

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम र बालबालिका सम्बन्धी निकाय युनिसेफले झण्डै ५० लाख मानिस, अर्थात् दक्षिण सुडानको ४० प्रतिशत भन्दा बढी जनसंख्यालाई, खानाको तुरुन्तै आवश्यकता रहेको बताएका छन्।

खानाको अभावका कारण धेरै मानिसलाई पोषणको कमी हुन सक्छ, तर राष्ट्रसंघको मापदण्ड अनुसार त्यसलाई यदाकदा मात्रै भोकमरी मानिन्छ।

लामो समयसम्म खडेरी परेमा वा अरु समस्याका कारण खानाको आपूर्ति अवरुद्ध भएमा भोकमरी हुन्छ भन्ने जरुरी छैन।

केही मापदण्डहरु पुरा भएमा मात्रै त्यस्तो स्थितिलाई भोकमरी भन्ने गरिन्छ।

भोकमरीको मापदण्ड

कम्तीमा २० प्रतिशत घरधुरीले खानाको अति नै अभावको सामना गरेको र त्यसको समाधान गर्ने उपाय नभएको, अति कुपोषणको मात्रा ३० प्रति भन्दा बढी रहेको र प्रत्येक दिन प्रत्येक १० हजार मानिसमा २ जना भन्दा बढीको मृत्यु भएको अवस्थालाई भोकमरी भन्न सकिन्छ।

भोकमरीको घोषणाप्रति राष्ट्रसंघ वा सदस्य राष्ट्रहरुको कुनै वाध्यकारी जिम्मेवारी हुँदैन, तर त्यस्तो घोषणाले समस्यामाथि विश्वको ध्यान तान्ने काम गर्दछ।

सोमबार प्रकाशित प्रतिवेदनले भोकमरीलाई अन्य जोखिमयुक्त स्थानमा फैलिन नदिनका लागि मानवीय सहायता बढाउनुपर्ने उल्लेख गरेको छ।

दक्षिण सुडानस्थित विश्व खाद्य कार्यक्रमकी प्रमुख जोयस लुमाले यो भोकमरीलाई मानव निर्मित भन्दै ३ वर्षदेखि जारी द्वन्द्वले देशभरमा उत्पादन घटेको र कृषक र ग्रामीण जनजीवनलाई नराम्रोसंग प्रभावित गरेको बताइन्।

"मानव-निर्मित"

द्वन्द्वको प्रभाव, खानाको उच्च मूल्य, आर्थिक संकट र न्यून कृषि उत्पादनका कारण सो क्षेत्र खाद्य असुरक्षित बन्न पुगेको प्रतिवेदनमा बताइएको छ।

दक्षिण सुडानले त्यस्तो समस्याको सामना गरेको यो पहिलोपटक होइन।

सुडानबाट स्वतन्त्र हुनका लागि गरिएको युद्धका क्रममा उक्त क्षेत्रमा सन् १९९८ मा भोकमरी भएको थियो।

गत हप्ता विश्व खाद्य कार्यक्रमले आगामी ६ महिनामा विभिन्न स्थानमा २ करोड सम्म मानिस भोकमरीबाट पीडित हुन सक्ने चेतावनी दिएको थियो।