राष्ट्रिय सुरक्षा सल्लाहकारमा म्याकमास्टर

  • 21 फेब्रुअरी 2017
तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जेनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका छन्।

रुससँग निकट सम्बन्ध राखेको भन्ने विवादका कारण कार्यभार सम्हालेको तेस्रो दिन नै माइकल फ्लिन पदबाट हटेपछि उनको ठाउँमा म्याकमास्टर आएका हुन्।

ट्रम्पले उनलाई एकदमै अनुभवि र क्षमतावान भएको र उनलाई सेनामा सबैले उच्च सम्मान गर्ने भन्दै प्रशंसा गरेका छन्।

अस्वीकार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि अवकाशप्राप्त सैनिक अधिकारी रोबर्ट होवार्डलाई राष्ट्रिय सुरक्षा सल्लाहकार छनोट गरे पनि उनले व्यक्तिगत कारण देखाउँदै पद अस्वीकार गरेका थिए।

त्यसपछि छानिएका अमेरिकी सेनामा लेफ्टिनेन्ट जेनरल रहेका उनले इराक र अफगानिस्तानमा सरकारको भ्रष्टाचारविरोधी अभियानका काम गरेका थिए।

म्याकमास्टरले किथ केलोगसँगै काम गर्नेछन् जो यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन पदबाट हटेपछि कार्यबहाकका रुपमा काम गर्दै आएका थिए।

केलोगको आधिकारिक पद भने राष्ट्रिय सुरक्षा परिषदका 'चिफ अफ स्टाफ' हुनेछ।

म्याकमास्टर र केलोगलाई संयुक्त राष्ट्रसंघका लागि पूर्व राजदूत रहेका जन बोल्टनले सघाउनेछन्।

तस्वीर कपीराइट Reuters

प्रभावशाली

ट्रम्पले म्याकमास्टरलाई एकजना अनुभवी र क्षमतावान व्यक्ति भनेका छन्।

ट्रम्पले भने, "उनी एकदमै अनुभवी र क्षमता भएका मानिस हुन्। उनका बारे गएको दुई दिनमा मैले धेरै अध्ययन गरेँ। उनलाई सेनामा सबैले उच्च सम्मान गर्छन् र उनलाई पाउनु हाम्रो लागि गौरवको विषय हो।"

वासिङ्टनमा रहेका बीबीसीका अलिम मक्बुलले भनेका छन्, अफगानिस्तान र इराकमा रहँदा म्याममास्टर एकदमै विचारवान, सिधा कुरा गर्ने व्यक्ति र सेनाका रणनीतिकारका रुपमा चिनिन्थे।

उनको मस्कोसँग कुनै निकट सम्बन्ध रहेको देखिँदैन।

हालै उनलाई अमेरिकाले रुसी सैन्यसँग कसरी जुझ्न सक्छ भन्ने उपायको खोजिका लागि अध्ययन गर्न जिम्मेवारी दिइएको थियो।

'टाइम' पत्रिकाले उनी २१ ‍औं शताब्दीको सेनाका एकजना प्रख्यात विचारक भन्दै उनलाई सन् २०१४ मा विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो।

उनले नर्थ क्यारोलाइना विश्वविद्यालयबाट अमेरिकी इतिहासमा विद्यावारिधी गरेका छन्।

उनले देश सेवाका लागि काम गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउँदै राष्ट्रिय सुरक्षा टोलीमा रहेर काम गर्न चाहेको बताए।