‘द्रुतमार्ग समयमै बनाउन स्वदेशी लगानी’

  • 21 फेब्रुअरी 2017
फास्टट्र्याक

राजधानी-तराई जोड्ने काठमाण्डू-निजगढ द्रुतमार्ग निर्माणबारे सुझाव दिन गठित उच्चस्तरीय समितिले नेपाली लगानी भएमात्रै प्रस्तावित द्रुतमार्ग समयमा बन्न सक्ने निष्कर्ष निकालेको छ।

समितिले विकास समिति वा कम्पनी निर्माण गरेर काम अगाडि बढाउन सकिने सुझावसहितको अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ।

भारतीय कम्पनीलाई द्रुतमार्ग अर्थात् 'फास्टट्रयाक' निर्माणको जिम्मेवारी दिनेबारे विवाद चुलिएपछि सरकारले त्यसको अध्ययन गर्न समिति गठन गरेको थियो।

सुझाव

दुई महिना लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदन सोमबार सरकारलाई बुझाउँदै समितिले निर्माणको काम विकास समिति वा कम्पनी गठन गरेर गर्ने, भारतीय कम्पनीले बनाएको पुरानो विस्तृत परियोजना प्रतिवेदन प्रयोग गर्न सकिने र सञ्चालनको प्रारुपबारे सुझाव दिएको जनाएको छ।

एक खर्ब रुपैयाँभन्दा बढी बजेट लाग्ने अनुमान गरिएको सो द्रुतमार्गको निर्माण नेपालले नै गर्नुपर्छ भन्ने सुझाव उच्चस्तरीय समितिको छ।

समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्छन् ,"विकास समितिबाट बाह्य सहायता लिने भन्ना साथै उनीहरुसँग सम्झौता गर्नुपर्यो र केही शर्तहरु हुनसक्छन्। त्यसकारण पनि ढिला हुनसक्छ"।

"हाम्रो मुख्य उद्देश्य समयमै काम सम्पन्न गर्ने भन्ने कुरा हो। त्यसैले आन्तरिक स्रोतबाट जुटाउने भन्ने सल्लाह दिएका छौं"।

त्यसका लागि आन्तरिक ऋण संकलन गर्न अप्ठ्यारो नहुने समितिको विश्वास छ।

विवाद

तराईसँग उपत्यकालाई जोड्ने महत्वपूर्ण मानिएको काठमाण्डूदेखि निजगढसम्मको द्रुतमार्ग निर्माणको जिम्मा विदेशी कम्पनीलाई दिने वा नदिने विषयमा चर्केको लामो विवाद टुङ्ग्याउदै नेपालले नै काम गर्ने निर्णय यसअघि सरकारले गरेको थियो।

त्यसपछि गठित सुझाव समितिले काम छरितो रुपमा सम्पन्न गर्न तीन ठाउँबाट निर्माण थाल्नुपर्ने सुझाव पनि दिएको छ।

संयोजक श्रेष्ठले भने ,"काठमाण्डूबाट निजगढसम्मको ७६ किलोमिटरको एउटा प्याकेज बनाउदैं जाने, निजगढबाट पनि बनाउँदै आउने, त्यस्तै निजगढबाट पथलैयाको अर्को प्याकेज बनाउने। यस्तो भयो र तीनवटा निर्माण व्यवसायीले काम शुरु गरे भने छिटो सकिन्छ।"

सरकारले चालू वर्षमा उक्त आयोजनाको लागि १० अर्ब रुपैयाँ छुट्याएको थियो।

शुरुमा ५६ अर्ब लाग्ने अनुमान गरिएको राष्ट्रिय गौरवको यो आयोजनाको लागत निर्माणमा भइरहेको ढिलाइसँगै भने वृद्धि हुँदै आएको देखिन्छ।