इजरेली सैनिकलाई १८ महिना जेल सजाय

  • 21 फेब्रुअरी 2017
अजारिया र उनकी आमा तस्वीर कपीराइट Reuters

२१ वर्षीय अब्दुल फतह अल-शरीफलाई वेस्ट ब्यांकस्थित हेब्रोनमा गोली हानेर मार्ने एलोर अजारियालाई हत्याको आरोपमा दोषी पाइएको छ।

अर्का सैनिकलाई आक्रमण गरेका शरीफ 'मृत्युको लायक भएको' अजारियाले एकजना सहकर्मीलाई बताएका थिए।

सैनिक अधिकारीहरुले उनको कदमको निन्दा गरेका छन् भने कतिले उनको प्रशंसा गरेका छन्।

यो मुद्दाले इजरेलमा सैनिकले कहिले र कसरी आक्रमणकारी विरुद्ध प्राणघातक बल प्रयोग गर्न सक्छन् भन्ने बहस चर्काएको छ।

पछिल्ला ५ महिनामा प्यालेस्टिनीहरुको आक्रमणमा २९ जना मारिएको सन्दर्भमा त्यस्तो घटना भएको हो।

अजारियाको समर्थन

त्यस्तो अपराधका लागि २० वर्षसम्मको जेल सजाय दिइने गरिन्छ तर अभियोजनकर्ताहरुले अजारियाका लागि ३ देखि ५ वर्षको जेल सजाँयको माग गरेका थिए।

अदालतमा फैसला पढेर सुनाइंदा अदालतबाहिर प्रदर्शनकारीहरुको विरोध भने घटेको थिए।

त्यहाँ जम्मा भएको सानो भीडले एलोर अजारियालाई तुरुन्तै रिहा गर्नुपर्ने माग गरिरहेको थियो।

राष्ट्रवादी राजनीतिज्ञहरुले उनलाई दिइएको सजाँयको आलोचना गरेका छन्।

फैसलाको विरोध

तर मृतकका पिताले भने त्यो सजाँयलाई हास्यास्पद भन्दै इजरेली अधिकारीहरुले आफ्नो मजाक उडाएको बताएका छन्।

उनले आजीवन कारावासको माग गरेका थिए।

तर मुद्दा भने अझै सकिएको छैन र अजारियाका वकिलले फैसला विरुद्ध अपिल गर्ने योजना बनाएका छन्।

फैसला पढेर सुनाइंदा आमाको अंगालोमा अजारिया मुस्कुराउँदै बसेको हाम्रा संवाददाता बताउँछन्।

दोषको निर्क्यौल

अजारियालाई पहिलोपटक दोषी पाइएको, सेना सकृय रहेको बेलामा त्यो घटना भएको र अजारियाले कस्तो व्यवहार गर्ने भन्ने बारेमा उनलाई स्पष्ट आदेश नदिइएको हुनाले उनको दोष कम भएको न्यायाधीश माया हेलरले बताइन्।

तर आफ्नो कदमप्रति अजारियाले कुनै पश्चाताप नदेखाएको पनि हेलरले उल्लेख गरिन्।

मोबाइल फोनमा खिचिएको त्यो घटनाको दृश्य इजरेलका समाचार कार्यक्रमहरुले देखाएपछि त्यो घटना धेरै चर्चित बनेको थियो।

भिडियो प्रमाण

त्यो भिडियोमा घाइंते भएका शरीफ हलचल गर्न नसकी भुइँमा लडेको अवस्थामा अजारियाले आफ्नो बन्दुक तेर्स्याएर शरीफको टाउकोमा प्रहार गरेको देखिन्छ।

शरीफले विस्फोटक पदार्थ भएको लुगा लगाएका थिए भन्ने आशंकामा आफूले गोली चलाएको भन्ने अजारियाको दावीलाई अदालतले अस्वीकार गरेको थियो।

घटनापछि अजारियाको कदमलाई निन्दा गर्ने सैनिक अधिकारीहरु र प्रधानमन्त्री समेत दक्षिणपन्थीहरुबाट आलोचित बनेका छन्।