ठाकुरप्रसाद मैनालीसंग कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपालका अग्रज आधुनिक मूर्तिकार

  • 23 फेब्रुअरी 2017

ख्याल ख्यालमै मूर्तिकला सिक्न पुगेका थिए ठाकुरप्रसाद मैनाली, तर बन्न पुगे उनी नेपालकै अग्रज आधुनिक मूर्तिकार।

मैनालीले आफ्नो कलायात्रा साहित्यबाट शुरु गरेका थिए।

२००७ साल पछि प्रजातन्त्रको घोषणा गरिएपछि उनी टोल टोलमा गएर कविता सुनाएको सम्झन्छन्।

ख्याल ख्यालमै साथीहरुसंग मूर्तकलाको अन्तर्वार्ता हेर्न पुगेका थिए उनी, र जाँच दिंदा आफ्नै नाम निस्किएपछि भने उनले भारतको गुजरातस्थित वरोदामा ललितकलाको अध्ययन अघि बढाउने निर्णय गरे।

"यहाँ नेपालमा भोटाहिटीमा एउटा सानो विद्यालय मात्रै थियो, त्यहाँ भने विश्वविद्यालय, प्रोफेसर, कलाको इतिहास र दर्शन नै पढाउने! म त दंग परें!" उनी सम्झन्छन्, र त्यहाँ काष्ठकला सिक्न थालेको बताउँछन्।

सिक्ने संघर्ष

तर ड्रइंगको कोर्स पास गरेका मान्छे पढ्न आउने त्यो कक्षामा पहिलो परीक्षा नराम्ररी बिगारेको उनी बताउँछन्।

"म त नेपाली भएँ नि त्यहाँ! एउटा नेपाली आएको थियो कला सिक्न, नसकेर गयो भन्ने त पार्नु भएन नि!"

त्यसपछि पढाइ अगाडि बढाउने प्रेरणा उनले यसरी पाएका रहेछन्।

"अनि मैले घुमघाम, राम-रमाइलो, गफगाफ, इभिनिङ वाक सब छोडैर बिहान देखि बेलुकासम्म काम, काम, काम गरेपछि सबैजना प्रभावित भएर फेरि पढ्न आउनुपर्छ भनेर सिफारिश गरे।"

तर स्नातकको पढाइ सकेर स्नातकोत्तर शुरु गर्ने बेलामा मूतिकलाको चुनाव गरेपछि उनले फेरि पनि समस्याको सामना गर्नुपर्यो।

"नेपालमा आधुनिक मूर्तीकला गर्ने कोही छैन भनेर मूर्तिकला रोजें।

तर मूर्तिकलामा सबभन्दा नराम्रो अंक आएपछि शिक्षकले 'यसलाई मूर्तिकला पढ्न नदिनु' भनेर लेखेछन्। म उनको घरमै गएर भनें— सजिलो विषय त आफैं पढिहाल्छु नि। यो तपाईंले मलाई सिकाउनुपर्यो।"

नेपालको स्थिति

त्यति भनेपछि उनले मूर्तिकलाको अध्ययन गरेर परीक्षामा राम्रो अंक पनि ल्याए।

तर आठ वर्षको अध्ययन पछि नेपाल फर्किँदा आफ्नो अध्ययनको प्रयोग गर्ने ठाउँ नै नदेखेर उनी फेरि हतास भएको सम्झन्छन्।

नेपालमा त्यसबेलामा प्रदर्शनी कक्षसमेत थिएन!

"म त फसें नि अब! त्यत्रो मूर्ति बनाउने मेरो सपना चकनाचूर भयो!" उनी भन्छन्।

रोयल होटलमा बल्ल बल्ल राजपरिवारका सदस्यका केही मूर्ति र केही आधुनिक चित्रकला प्रदर्शनी आयोजना गरेका थिए उनले।

कलाकार नै रहेका तत्कालीन युवराज वीरेन्द्रले पनि ती कलाकृति हेर्ने मौका मिलाएको उनी बताउँछन्।

र त्यसपछि उनले मौका पाए - नेपालमा कला संस्थाको स्थापना गरेर कलाको विकास गर्ने आफ्नो सपनाका बारेमा युवराजलाई बताउने।

ललितकला संस्थाको स्थापना

"एकदिन अचानक दरबारबाट चिठी आयो," उनी सम्झन्छन्।

"केही योजना लिएर भोलि आउनु भनेर। योजना त केही छैन आफूसंग!

केही समय पाउँछु भन्ने लागेको थियो, तर भोलिपल्टै आउनु भन्ने खबर आयो।

रुघा लागेर सुतिरहेको थिएँ, अनि त उठिहालें तुरुन्तै! ‍औषधि खाएँ र लेख्न थालें योजना।"

थुप्रै मान्छेलाई बोलाएर, ती योजना सुनाएर, त्यसको विरोध गर्न भनेर मात्रै योजना पक्का भयो भन्ने लागेर सुनाउन गएछन् उनी।

त्यसरी स्थापना गरिएको ललितकला संस्था नै पछि गएर ललितकला क्याम्पस बन्न पुगेको थियो।

तर त्यस्तो संस्था स्थापना गरेर उनी त्यसमा अध्यापन गर्न भने चाहेनन्, पाठ्यक्रम तयार गर्न मद्दत गरेर कलाकारिता मै फर्कन चाहे।

निर्माण

उनले नेपालमा बनाएको पहिलो मूर्ति, भृकुटीमण्डपमा रहेको 'निर्माण' नामक मूर्ति नै उनका लागि सबभन्दा स्मरणीय रहेको उनी बताउँछन्।

दरबारबाट 'नेपालीपन झल्किने' मूर्तिको नमुना बनाउने अनुरोध आएपछि उनलाई नेपालीपन भनेको के हो भनेर व्याख्या गर्न हम्मे परेछ।

"केलाई नेपाली भन्ने? खर्पन बोकेको पुरुष हो कि? डोको बोकेको महिला हो कि?" उनी सोध्छन्।

"र एउटा आधुनिक जगतले पनि त्यसलाई मूर्ति भनेर मान्नुपर्यो…"

अन्तिममा उनले राजाको जन्मोत्सवमा नरसिंघा बजाउँदै आउने मानिसको नमुना बनाउने निर्णय गरे।

तर नमुना छनोट गरे पनि मूर्ति भने कस्तो बन्ला भनेर फेरि दुविधामा परेछन् उनी।

"मयलपोश सुरुवाल लगाउने, इष्टकोट टोपी लाउने त्यो मानिस मैले झल्याकझुलुक मात्रै देखेको थिएँ। फेरि त्यसले कसरी नरसिंघा समाउँछ?"

बिग्र्यो भने त सधैंलाई बिग्रिन्छ भनेर नरसिंघा राखिएको छाउनीको संग्रहालयमा पुगेछन्, र त्यहाँ ३ टुक्रा पारेर राखिएको नरसिंघालाई जोड्न लगाएर एकजना साथीलाई समाउन लगाएपछी बल्ल आफ्नो नमुनामा विश्वस्त भएछन्।

आधुनिकता

त्यही नमुनाबाट शुरुवात गरिएको उनको 'निर्माण' नामक मूर्तिमा देवी देवता लगायतका परम्परागत धार्मिक पात्रहरु छैनन्, र त्यसकारण पनि त्यसले नेपालमा आधुनिक मूर्तिकलाको कोशेढुंगा मानिएको छ।

बरु छन् त्यहाँ मैनालीले नेपाली ठानेका केही विम्बहरु: गोरु जोत्न लागेको हली, शिक्षा, स्वास्थ्य, यातायात, र सिँचाईका प्रतिनिधि पात्र, र अन्त्यमा नरसिंघा बजाउने मान्छे र नेपालको झण्डा।

विद्यार्थी जीवनपछि भोकभोकै बसेर गरेको भन्दै त्यो मूर्ति बनाउन पाउनु आफ्नो गौरवको कुरा भएको उनी बताउँछन्।

सिमेण्ट, रड लगायतका सामग्री प्रयोग गरेर बनाइएका ती आकृतिहरु यथार्थपरक छैनन्, तर चिनिन्छन्।

अमूर्तताको मूर्त रुप

त्यसरी मूर्त वस्तुलाई अमूर्त रुप दिने र अमूर्तलाई मूर्त बनाउने काम मैनालीले धेरै गरेका छन्।

तर प्रत्येक पटक त्यसो गर्दा आफूलाई निकै गाह्रो हुने उनी बताउँछन्।

"हावा, बास्ना, स्वाद, यी सब अमूर्त चीजलाई कलामार्फत कसरी देखाउने? बनाउने भन्दा पनि के बनाउने, कस्तो बनाउने भन्ने सोच्दैमा प्रलय हुन्छ हरेक पटक," उनी बताउँछन्।

त्यसरी विद्युतको प्रतिनिधित्व गर्ने एउटा मूर्ति बनाएको सम्झन्छन् उनी।

"अधिकारीहरुले मूर्ती बनाउन नदिने भनेपछि कलालाई सभ्यताको चिह्न भनेर बल्ल बल्ल काम पाएको थिएँ," उनी बताउँछन्।

"पहिलेका मान्छेहरु धेरै कुरा जान्दैनथे तैपनि त्यत्रा त्यत्रा मूर्ति बनाए। पछिका मान्छेले हामीलाई असभ्य भन्छन्।

साहित्य, संगीत, कला केही नजान्ने रहेछन् भनेर हामीलाई कलंकको टीका लगाउँछन् भनेपछि मूर्ति त बनाउने तर विद्युतको प्रतिनिधित्व गर्ने मूर्ति बनाउनुपर्यो भने।

अनि म अलमलमा परें। अब के बनाउने? टर्बाइन बनाउने कि? तार बनाउने कि? बल्ब बनाउने कि?"

धेरै दिन सोचेपछि उनले बनाएः मूर्तिको फेदमा एउटा खाल्टो र त्यसको बीचमा कमलको फूल।

फूल भित्र एउटा बल्ब, र कमलको फूल माथिको एउटा अर्घ्यबाट पानी झर्दा कमलको फूल घुम्ने र त्यो बल्ब बल्ने।

त्यस्तो बनाएछन् उनले विद्युतको विम्ब!

कलामा विम्ब

त्यसै गरी दूरसञ्चारको तालीम केन्द्रमा पनि उनले त्यसको प्रतिनिधित्व गर्नका लागि प्रकाशको मूर्ति बनाएछन्।

"दूरसञ्चारको प्रतिनिधित्व गर्ने मूर्ति कस्तो बनाउने? टेलिफोन बनाउने कि? त्यो उठाइराखेको बनाउने कि? के बनाउने?" उनी हाँस्छन्।

"अन्त्यमा मैलै सोचें, त्यो एउटा तालीम केन्द्र हो।

तालीमले ज्ञान दिन्छ, र ज्ञानको विम्ब हो प्रकाश। त्यसपछि मैले प्रकाशको मूर्ति बनाएँ।"

तर दर्शकले त्यस्ता मूर्तिमा के देख्छ त?

उनले देखाउन खोजेको विम्ब देख्छ अथवा कुनै अमूर्त वस्तु देख्छ त?

दर्शकले त्यस्ता किसिमका कलाकृतिलाई नयाँ चीज भनेर हेर्ने उनको मत छ,र यस विषयमा व्यापारका नियमहरु कलामा पनि लागू हुने उनको विचार छ।

अमूर्त कलाको बुझा

"कुनै पनि वस्तुको प्रवर्द्धन गर्न दुई किसिमका नियम प्रयोग गरिन्छन्" उनी भन्छन्, "एउटा 'ल अफ नोभेल्टी' अर्थात नौलोपना।

कुनै पनि नौलो चीज दर्शकले देखेमा त्यसप्रति आकर्षित हुन्छ र बुझ्न खोज्छ।

र अर्को चाहिं 'ल अफ एशोसिएसन' अर्थात परिचित कुरा।

त्यो एशोसिएसन अर्थात परिचय हुनका लागि दर्शकले कला हेरिराख्नपर्यो।

त्यसपछि तपाईंले त्यसलाई अपनाउन सक्नुहुन्छ। कलामा ती दुबैको प्रयोग हुनुपर्छ।"

भित्रैदेखि कलाकार

साथीहरुको लहैलहैमा लागेर मूर्तिकला सिक्न गएर नेपालमा अमूर्त मूर्तिकलाका मुख्य व्याख्याता बन्न पुगेका मैनाली आफू अनपेक्षित रुपमा कलाकार भएको भने मान्दैनन्।

"म भित्र कला नभएको भए म कसरी कलाकार हुन्थें?" उनी सोध्छन्।

"म छोडेर आइहाल्थें नि! मैले कला नदेखेको, नजानेको भएर पो नगरेको रहेछु त।

म भित्र रहेछ, त्यसैले त गरें नि! आफू भित्र कला रहेनछ भने चाहिं तपाईं सक्नुहुन्न है!"