युकेमा विदेशी पति पत्नी बारेको नियम सदर

  • 22 फेब्रुअरी 2017
लरा सेगन र स्पेन्सर रुस तस्वीर कपीराइट स्पेन्सर रुस
Image caption अंग्रेजी पढाउने पेसामा रहेका लरा सेगन र स्पेन्सर रुसको रुसमा काम गर्ने बेलामा भेट भएको थियो।

ब्रिटेनको सर्वोच्च अदालतले, ब्रिटिश नागरिकले आफ्ना विदेशी श्रीमान वा श्रीमतिलाई ब्रिटेन ल्याउनु अघि आर्जन गर्नुपर्ने न्यूनतम तलबको सीमा तोक्ने सरकारको अधिकारलाई उचित ठहर्याएको छ।

पाँच वर्षअघि लागु गरिएको नियम अनुसार, ब्रिटिश नागरिकले १८ हजार ६ सय पाउण्ड भन्दा बढी बार्षिक आम्दानी गर्ने भएमा मात्र तिनको विदेशी श्रीमान वा श्रीमतीले ब्रिटेन आएर संगै बसोबास गर्न पाउने छन्।

ब्रिटेनको सर्वोच्च अदालतले फैसलामा भनेको छ, हजारौं ब्रिटिश नागरिकहरुले तिनका विदेशी श्रीमान वा श्रीमतीलाई ब्रिटेन ल्याउनका लागि अवरोध गरिरहेको आम्दानी सम्बन्धी सरकारी नियम वैध रहेको छ।

तर आप्रवसन सम्बन्धी निर्णयहरु लिंदा सरकारले बालबालिकाहरुको हितका बारेमा विचार गर्नु पर्ने न्यायाधिशहरुले बताएका छन्।

नियम

सन् २०१२ मा लागु गरिएको नियमका अनुसार, बार्षिक १८ हजार ६ सय पाउण्ड भन्दा बढी आम्दानी भएका ब्रिटिश नागरिकहरुले मात्र युरोपेली आर्थिक क्षेत्रभन्दा बाहिरको देशका आफ्ना श्रीमान वा श्रीमतीलाई ब्रिटेनमा ल्याउन पाउने छन्।

त्यस्तो नियमबाट आफ्नो पारिवारिक हक सम्बन्धी मानव अधिकार उलंघन भएको भन्दै परिवारहरुले दायर गरेका पुनरावेदनलाई सर्वोच्च अदातलका न्यायाधिशहरुले खारेज गरेका थिए।

उक्त मुद्दाको सुनुवाईमा सहभागी सर्वोच्च अदालतका सात जना न्यायाधिशहरुले न्यूनतम आम्दानीको सीमा निर्धारण गरिनु तिनीहरुकै शब्दमा, सैद्धान्तिक रुपमा स्वीकार्य छ।

तर तिनीहरुले उक्त नियमको सेरोफेरोमा रहेर आप्रवासन सम्बन्धी निर्णय गर्दा बालबालिकाहरुको हितलाई सुरक्षित गर्ने र प्रवर्द्धन गर्ने कर्तव्य पालना हुनु पर्ने पनि बताएका छन्।

न्यायाधिशहरुले नियमित रोजगारी बाहेक आय आर्जनका वैकल्पिक स्रोतहरुलाई पनि आम्दानीको उपयुक्त स्रोतका रुपमा स्वीकार गर्ने गरी नियमहरुमा संशोधन गर्न पनि भनेका छन्।

भार

न्यूनतम आम्दानी सम्बन्धी त्यस्तो नियम, ब्रिटिश नागरिकका विदेशी श्रीमान वा श्रीमतिका कारण ब्रिटिश करदाताहरुमाथि भार पर्ने अवस्था आउन नदिन यसअघिको गठबन्धन सरकारले लागु गरेको थियो।

न्यूनतम आम्दानीको सीमा युकेमा शरणार्थी भएर बसेका मानिसहरुको हकमा पनि लागु हुन्छ।

एकजना बच्चा भएको र बच्चा ब्रिटिश नागरिक नभएको दम्पतीको हकमा त्यस्तो सीमा २२ हजार चार सय पाउण्ड छ।