स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक

  • 22 फेब्रुअरी 2017
पुरानो गाउँ विकास समितिको कार्यालय
Image caption कार्यतालिका सार्वजनिक गर्दै स्थानीय तहको चुनावको तयारी आफूले थालेको निर्वाचन आयोगले स्पष्ट पारिदिएको छ।

निर्वाचन आयोगले वैशाख ३१ गते तोकिएको स्थानीय तह निवाचन २०७४को कार्यक्रम सार्वजनिक गदै चुनावको व्यवस्थापनमा सहयोग गर्न सरकारलाई १९-बुँदे निर्देशन दिएको छ।

उक्त निर्देशनमा निर्वाचनका लागि आवश्यक स्रोत, साधन र सुरक्षा व्यवस्था मिलाउने कार्यलाई उच्च प्राथमिकता दिन सरकारलाई भनिएको छ।

निर्वाचन आयोगको आचार संहिता पालना गर्न र गराउन पनि जोड दिइएको छ।

स्थानीय तह निर्वाचन २०७४ को लागि उम्मेदवारहरुको मनोनयन वैशाख १६ गतेबाट शुरु गर्ने निर्वाचन आयोगले बताएको छ।

व्यवस्था

आयोगको कार्यतालिका अनुसार १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए।

उनले भने, "वैशाख १६ गते १० बजेदेखि ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हामी उम्मेदवारको मनोनयन दर्ता गर्छों।"

आयोगले सरकारलाई निर्वाचन व्यवस्थापनमा सहयोग पुर्याउन १९-बुँदे निर्देशन जारी गरेको छ। शान्ति सुरक्षालाई प्राथमिकता दिंदै आयोगले निर्वाचन समाग्री ढुवानी र भण्डारण गर्न र निर्वाचनका बखत विषेश सुरक्षा प्रदान गर्न आग्रह गरेको छ।

निर्वाचनका लागि परिचालन गर्न मिल्ने सबै सरकारी निकायका जनशक्ति प्रयोग गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ।

साथै वैशाख २५ देखि ३१ गतेसम्म सबै शैक्षिक क्रियाकलापहरु स्थगन गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिएको छ।

बजेट

निर्वाचन सम्पन्न गर्न करिब १० अर्ब रुपैंयाँ बजेट चाहिने सचिव गोपी मैनालीले बताए।

उनले भने, "जस(चुनाव)का लागि १० अर्ब २९ करोड ६३ लाख रुपैंयाँ बजेटको हामीले अनुमान गरेका छौं, यो सुरक्षा खर्च बाहेक हो।"

निर्वाचन मिति घोषणा भएको दिन, अर्थात फागुन ९ गतेसम्म, १८ वर्ष पुगेका व्यक्तिलाई निर्वाचन मतदाता नामावलीमा समावेश गरीने आयोगले जनाएको छ।