अतिरिक्त शुल्क हटाउने भारतीय घोषणा

  • 23 फेब्रुअरी 2017
नेपाली ट्रक

भारतको बाटो हुँदै अन्य मुलुकबाट आयात गरिने सामानमा लगाइएको साढे चार प्रतिशत सेवा शुल्क भारतीय पक्षले हटाउने निर्णय गरेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।

महावाणिज्य दूत एकनारायण अर्यालका अनुसार, भारतले लगाएको सेवा शुल्क एक महिना पनि नबित्दै हटाइएको हो।

नेपाल सरकार र निजी क्षेत्रको लामो कसरतपछि भारत उक्त शुल्क हटाउन सहमत भएको व्यवसायीहरुले बताएका छन्।

परिपत्र

साढे चार प्रतिशत सेवा शुल्क लगायत अन्य कुनै पनि शुल्क नलगाउने मनशायको भारत सरकारको परिपत्र पनि आफूहरुले पाइसकेको महावाणिज्य दूत अर्यालले जानकारी दिए ।

गत जेनुअरी १२ मा भारत सरकारले भारत हुँदै तेस्रो मुलुकबाट सामान आयात गर्दा अतिरिक्त सेवा शुल्क लिने सूचना जारी गरेको थियो।

सोही अनुसार जेनुअरी २२ देखि त्यस्तो शुल्क लिंदै आइएको थियो।

त्यसका कारण तेस्रो मुलुकहरुबाट सामान आयात गर्ने नेपाली व्यवसायीहरुले एक महिनामा करोडौं रुपैयाँ भारतलाई तिर्नुपरेको थियो।

शुल्क

नेपाल उद्योग वाणिज्य महासंघको स्थलमार्ग तथा पारवहन समितिका अध्यक्ष राजन शर्माले व्यवसायीले तिरेको शुल्क पछि गरिने अन्य कारोबारमा मिलान गरिदिन भारतसँग आग्रह गरेको जानकारी दिए ।

नेपाल जस्तो जलमार्गविहीन देशका लागि भारतले लगाएको उक्त सेवा शुल्क विश्व व्यापार संगठनको प्रावधान विपरीत भएको व्यवसायी तथा नेपाली सरकारी अधिकारीहरुले बताउँदै आएका थिए ।

तर अझै पनि अन्य छिमेकी मुलुकहरु सरह नेपालले सामान आयातमा भारतबाट सुविधा नपाएको महावाणिज्य दूत अर्यालको भनाइ छ ।

साढे चार प्रतिशत सेवा शुल्क हटेपछि नेपाली उपभोक्तालाई सामान खरिद गर्दा थप आर्थिक भार नपर्ने व्यवसायीहरु तथा सरकारी अधिकारीहरुले बताएका छन्।