अमेरिकी नीतिप्रति मेक्सिको आक्रोशित

  • 24 फेब्रुअरी 2017
मेक्सिको तस्वीर कपीराइट Reuters

मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगाराइले उनको मुलुकसम्बन्धमा अमेरिकाले लिएको पछिल्लो नीतिप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष प्रतिनिधिका रुपमा मेक्सिको पुगेका अमेरिकी विदेशमन्त्री र आन्तरिक सुरक्षा मन्त्रीसँग उनले आप्रवासनसम्बन्धी वासिङ्टनको नयाँ नीतिप्रति चिन्ता व्यक्त गरेका हुन्।

तिक्तता

उनीहरुसँग भेटेपछि एउटा संयुक्त पत्रकार सम्मेलनमा भिडेगाराइले भने ,"हामी यो भ्रमणका लागि साँच्चै गौरावान्वित र कृतज्ञ छौं किनकि यो, मेक्सिको र अमेरिकाले भोगिरहेको जटिल घडीमा भएको छ। तपाईंहरु सबैलाई थाहा छ कि मेक्सिको र विदेशमा रहेका मेक्सिकनका लागि हानिकारक हुने ठानिएका नीतिहरुप्रति आक्रोश छ"।

मेक्सिकन वा अन्य जुनसुकै मुलुकका भएपनि सबै अवैध आप्रवासीलाई फिर्ता पठाउने अमेरिकी योजनाप्रति उनको संकेत थियो।

तर अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जन केलीले अमेरिकामा अवैध रुपमा बसिरहेका विदेशीलाई सामूहिक रुपमा निकाला नगरिने र त्यस्ता कारबाहीमा सेनाको प्रयोग नहुने बताए।

खराब

राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि अमेरिका र मेक्सिकोको सम्बन्ध दशकौंयताकै सबैभन्दा खराब अवस्थामा छ।

सीमामा पर्खाल लगाउने खर्च मेक्सिकोले बेहोर्नुपर्ने र जुनसुकै मुलुकको भएपनि अमेरिकामा अवैध रुपमा बसिरहेका आप्रवासीलाई निकाला गर्ने पछिल्लो अमेरिकी योजनाबाट मेक्सिको खुशी छैन।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले चाहिँ अमेरिका र मेक्सिको दुईवटा बलिया सार्वभौम मुलुक भएको भन्दै समयसमयमा मतभेद हुनु सामान्य भएको टिप्पणी गरे।

मेक्सिको र अमेरिकाका सबैभन्दा उच्च कूटनीतिक प्रतिनिधिको हाउभाउ हेर्दा पछिल्लो भेटवार्ताले पनि ती छिमेकीबीच सम्बन्ध न्यायो भइसकेको प्रतीत हुँदैन।

तर पछिल्ला केही साताको तुलनामा अहिले दुवै मुलुक एकअर्काप्रति केही नरम भएको आभास हुन थालेको ठानिएको छ।

दुईजना उच्च अमेरिकी अधिकारीले मेक्सिकोका राष्ट्रपति एनरिके पेन्या नियटोलाई पनि भेटेका थिए।

अमेरिकी राष्ट्रपतिले मेक्सिकोसंगको सीमामा पर्खाल लगाउने र त्यसको खर्च मेक्सिकोले बेहोर्नुपर्नेमा जोड दिएपछि हालसालै पेन्या नियटोले आफ्नो अमेरिका भ्रमण रद्द गरेका थिए।