निश्चित सञ्चार माध्यममाथि रोक

  • 25 फेब्रुअरी 2017
तस्वीर कपीराइट Getty Images

आधिकारिक मान्यता पाएका सबै पत्रकारहरुलाई विगतमा खुल्ला गरिने ह्वाइट हाउसको पत्रकार सम्मेलनमा यसपटक रोक लगाइएको छ।

त्यसरी रोक लगाइनेहरुमा न्यूयोर्क टाइम्स, सिएनएन, बीबीसी, लस एन्जल्स टाइम्स र अन्य कैयौं सञ्चारमाध्यम छन्।

स्पाइसरको उक्त निर्णयबारे सोधिँदा उनले आफूले गलत समाचार र झुठा तथ्य राखिएका गलत शैलीका समाचार टुलुटुलु हेरेर नबस्ने जवाफ दिए।

अस्वभाविक

एकदमै अस्वभाविक लाग्ने कदम अन्तर्गत छानिएका केही सञ्चारगृहहरुलाई एउटा अनौपचारिक ब्रिफिङका लागि बोलाइएको थियो।

त्यसरी प्रेस कक्षमा बोलाइएकामा एबीसी, फक्स न्यूज, ब्रीबार्ट न्यूज र वासिङ्टन टाइम्सका सञ्चारकर्मी थिए।

तर प्रवेशमा रोक लगाइनेहरुमा चाहिँ बीबीसी, न्यूयोर्क टाइम्स र सिएनएन थिए।

ती सञ्चारगृहका पत्रकारलाई किन प्रवेशमा रोक लगाइयो भन्नेबारे शन स्पाइसरलाई सोधिएको थियो।

राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानका सहयोगीहरुको रुसी जाशुसी संस्थाका अधिकारीसँग सम्पर्क रहेको भन्ने दाबीसहित हालै आएका खबरहरुबाट ट्रम्प बेखुश छन्।

१५ मिनेटसम्म बोलेका स्पाइसरले समाचार संस्थाहरुले अज्ञात स्रोतलाई उद्धृत गर्दै समाचार लेख्न नहुने बताए।

उनले आफ्नो गलत समाचार सम्प्रेषण गर्ने पत्रकारहरु अमेरिकी जनताको दुश्मन भएको दोहोर्याए।

तस्वीर कपीराइट @CNNPR

जवाफ माग

तर ह्वाइट हाउसले ती प्रमुख समाचारगृहहरुलाई पत्रकार सम्मेलनमा किन प्रवेश दिइएन भन्ने चाहिँ बताइसकेको छैन।

ह्वाइट हाउसकी प्रवक्ता सराह स्यान्डर्सले आफूहरुले सबै पत्रकारहरुको प्रतिनिधित्व गर्ने एउटा समूहलाई बोलाएको र उनीहरुले बाँकी संवाददाताहरुलाई सूचना दिने बताइन्।

न्यूयोर्क टाइम्सका कार्यकारी सम्पादक डिन बक्वेले आफ्नो पत्रिकाको इतिहासमै यस्तो खालको बन्देज पहिलोपटक लागेको बताएका छन्।

उनले पारदर्शी सरकारसम्म स्वतन्त्र सञ्चारमाध्यमको पहुँच राष्ट्रिय स्वार्थका लागि अपरिहार्य भएको बताए।

वासिङ्टनस्थित बीबीसीका ब्यूरो प्रमुख पल डानाहारले भनेका छन्, ह्वाइट हाउसमा प्रत्येक दिन हुने सबै पत्रकार सम्मेलनमा बीबीसीका प्रतिनिधि हुन्थे तर यो पछिल्लोमा किन रोक लगाइयो भन्ने स्पष्ट भएको छैन।

उनले ह्वाइट हाउसको प्रेस टोलीसँग जवाफ मागिरहेको जनाएका छन्।