'क्यान्सरपीडित महिलाहरुको उपचार खर्च व्यहोर्ने तयारी'

  • 27 फेब्रुअरी 2017

क्यान्सरपीडित महिलाहरुको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने महत्वाकांक्षी योजना लागू गर्न आवश्यक गृहकार्य अन्तिम चरणमा पुगेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ।

मन्त्री कुमार खड्काले सोमवार त्यस्तो योजना सार्वजनिक गर्दै आगामी आइतवारसम्ममा उपचार विधि तय गरी सम्बन्धित क्यान्सर अस्पतालहरुसँग संझौता गर्ने निर्णय भएको बताए।

स्वास्थ्य मन्त्रालयको सहकार्यमा लागू हुने भनिएको उक्त योजनाले पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सर भएका अनुमानित झण्डै पाँच हजार महिलाहरुले सेवा पाउन सक्ने जनाइएको छ।

उपचार विधि जटिल र महँगो हुने क्यान्सर रोगका कारण हरेक वर्ष सयौं महिलाहरुले ज्यान गुमाउने गरेका छन्।

सम्झौता

महिलाहरुमा धेरै जसो देखिने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको नि:शुल्क उपचार गर्न महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले विभिन्न सरकारी अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको छ।

उपचार विधि निर्क्यौल गर्न मन्त्रालयले एक समिति समेत बनाएको छ।

सो समितिको सिफारिसका आधारमा अस्पतालसंग संझौता गरिने बताउँदै महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले भने, "सम्पूर्ण हस्पिटलसँग हामीहरुले एमओयु गर्छौं। रोग लाग्नुभएका दिदीबहिनीहरु हस्पिटलमा जानुहुन्छ। त्यो उपचारको खर्च हस्पिटलले लिंदैन र हस्पिटलले त्यहाँ एउटा एग्रिमेन्ट साईन गरेपछि त्यो बिल मन्त्रालयमा ल्याएपछि मन्त्रालयले त्यसलाई पे गर्छ।"

बिरामी पक्षले उपचार लागि कुनै आर्थिक झञ्झट व्यहोर्नु नपर्ने, अस्पताल आफैले सम्पूर्ण खर्च विवरण राख्ने र उपचारपछि बिरामीले लागेको खर्च प्रमाणित मात्र गरिदिए पुग्ने बताइएको छ।

सो महत्वाकांक्षी योजना कार्यान्वयनमा कुनै ठूला चुनौती नरहेको दावी गर्दै मन्त्री खड्काले भने, ''४२ करोड १९ लाख ४८ हजार खर्च गरेर पाँच हजार दिदीबहिनीहरुको, छोरीहरुको ज्यान बचाउन सकिन्छ भने यो रकम, सस्तो लोकप्रियताका लागि भनेको होइन, हाम्रै मन्त्रालयको बजेटले पनि धान्न सक्छ।''

राहत

हाल सरकारले महिलालाई मात्र हुने क्यान्सर रोगका बिरामीहरुलाई राहत स्वरुप १ लाख रुपैया उपलब्ध गराउँदै आएको छ।

नि:शुल्क उपचार योजनाको प्रारम्भिक चरणमा मन्त्रालयले सम्बन्धित अस्पताल र विज्ञसँगको परामर्श गर्दै एक अध्ययन गरेको थियो।

त्यस्तो अध्ययनले अवस्था हेरी पाठेघरको मुखमा लाग्ने क्यान्सरको उपचारका लागि झण्डै १ लाख ६० हजार, पाठेघरमा हुने क्यान्सरको उपचारमा झण्डै २ लाख ९ हजार र स्तन क्यान्सरको उपचारका लागि झण्डै २ लाख रुपैयाँ न्यूनतम खर्च लाग्ने देखाएको थियो।

त्यस्ता रोगीको अनुमानित संख्या एक वर्षमा पाँच हजारसम्म पुग्ने मन्त्रालयको भनाइ छ।