ओस्करमा गल्तीका लागि क्षमायाचना

  • 27 फेब्रुअरी 2017
पुरस्कार गरेर भाषण गर्दै ला ला ल्याण्डका निर्माता तस्वीर कपीराइट AP

ओस्कर पुरस्कारको मतदान प्रकृयाको सुपरीवेक्षण गर्ने कम्पनीले सर्वोत्कृष्ट चलचित्रमा गलत चलचित्रको नाम घोषणा गरिएको गल्तीका लागि माफी मागेको छ।

उक्त पुरस्कार मुनलाइटले जितेको छ तर त्यो भन्दा पहिले ला ला ल्याण्डलाई विजेता घोषित गरिएको थियो।

गल्ती भएको थाहा भएपछि भाषण दिंदै गरेका ला ला ल्याण्डका निर्मातालाई बीचैमा रोकिएको थियो।

उद्घोषकहरुलाई गलत खाम दिन गएका कारण त्यस्तो भएको बताइएको छ।

कसरी भयो गल्ती

पुरस्कार विजेताका नाम भएका खामहरु दुइजनासंग हुने गर्दछन्।

ला ला ल्याण्डकी अभिनेत्री एमा स्टोनले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइसकेपछि गल्तीले फेरि स्टोनकै नाम भएको अर्को खाम अर्का उद्घोषकलाई दिइएको थियो।

सर्वोत्कृष्ट चलचित्रको घोषणा गर्ने बेलामा खामभित्र ती अभिनेत्रीको नाम देखेर उद्घोषकहरु झुक्किएका थिए र स्टोन अभिनीत ला ला ल्याण्डको नाम उद्घोषण गरेका थिए।

ओस्करको मतगणना गर्ने कम्पनी प्राइसवाटरहाउसकूपरले गल्तीका लागि क्षमा मागेको छ।

प्रतिकृया

ला ला ल्याण्डकै निर्देशक जोर्डन होरोविट्जले त्यस्तो गल्ती भएको घोषणा गरेका थिए र मुनलाइटले जितेको भन्दै मुनलाइटको नाम लेखिएको कार्ड मञ्चबाट सबैलाई देखाएका थिए।

मुनलाइटका निर्देशक ब्यारी जेन्किन्सले सपनामा पनि त्यस्तो हुन नसक्ने भन्दै अविश्वास व्यक्त गरेका थिए।

तर पछि उनले गल्तीलाई राम्रोसंग सम्हालेकोमा ला ला ल्याण्डको टोलीलाई धन्यवाद दिएका थिए।

सर्वोत्कृष्ट चलचित्रको पुरस्कारमा ला ला ल्याण्डको नाम घोषणा हुँदा त्यसकी अभिनेतृ एमा स्टोनले आफू निकै खुशी र उत्साहित भएको भन्दै अन्तर्वार्ता दिंदै थिइन्।

ला ला ल्याण्डलाई सान्त्वना

स्टोनले ला ला ल्याण्डकै लागि सर्वोत्कृष्ट अभिनेतृको पुरस्कार पाएकी छिन्।

पछि उनले त्यसलाई ओस्करको सबैभन्दा अचम्मको क्षण भनिन्।

६ वटा ओस्कर विजेता चलचित्र ला ला ल्याण्ड यस वर्षको सर्वाधिक पुरस्कार जित्ने चलचित्र भने बनेको छ।

ला ला ल्याण्ड का ३२ वर्षीय निर्देशक डामिएन शजेल सर्वोत्कृष्ट निर्देशकको पुरस्कार जित्ने कान्छा निर्देशक बनेका छन्।