चुनाव गराइछाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • 28 फेब्रुअरी 2017
बैठक तस्वीर कपीराइट Prachanda's website
Image caption राष्ट्रको नाममा सम्बोधनअघि प्रधानमन्त्रीले सत्तारुढ दल र मधेशी मोर्चाका नेतासँग छलफल गरेका थिए।

संविधान संशोधनको टुंगो नलगाई निर्वाचन गराउन नहुने अडान संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नछाडेपछि प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनाव गराइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै उनले २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी हुन खासगरी तराईका मतदाता र मधेशी मोर्चालाई अपील समेत गरे।

निर्वाचनका लागि सरकारले शान्ति सुरक्षामा कमी हुन नदिने भन्दै प्रधानमन्त्री प्रचण्डले चुनावमा प्रत्येक मतको सुरक्षा गरिने बताए।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको बैठक सहमतिबिना टुंगिएपछि प्रधानमन्त्री प्रचण्डले चुनाव गराई छाड्ने प्रतिबद्धता झल्किने सम्बोधन गरेका थिए।

'ऐतिहासिक'

पछिल्ला अनौपचारिक तथा अनौपारिक छलफलबाट पनि सहमति हुने भेउ नपाएपछि गरेको सम्बोधनमा उनले घोषित चुनाव संविधान र लोकतन्त्रकै कार्यान्वयनमा ऐतिहासिक महत्व राख्ने भन्दै त्यो प्रधानमन्त्री वा सरकारको मात्र नभई सबै राजनीतिक दल र सिंगो राष्ट्रकै परीक्षा भएको बताए।

उनले भने, "२० वर्षसम्म सोच्न समेत हिम्मत नगरिएको यो निर्वाचनलाई गराइछाड्ने हाम्रो आँट र विश्वासको स्रोत जनता नै हो। लोकतन्त्र कार्यान्वयनको हकमा यो एउटा ऐतिहासिक फड्को हो र यसलाई हामीले जसरी पनि सफल बनाउनु छ।"

यद्यपि चुनाव गराउनु चुनौतीरहित नभएको प्रधानमन्त्री स्वयंमको ठम्याई छ।

'विगतमा मधेशमा सबैभन्दा धेरै उत्पीडन गर्ने वर्ग अहिले मधेशी जनताकै काँधमा बन्दुक राखेर परिवर्तनका उपलब्धि उल्ट्याउने सपना देखिरहेको' उनको भनाई थियो।

प्रधानमन्त्रीले त्यसलाई सफल हुन नदिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

र, असन्तुष्टिलाई सम्बोधन गर्ने विश्वास दिलाउँदै निर्वाचनमा भाग लिन उनले आग्रह गरे।

आवेग

उनले थपे, "म विश्वास दिलाउँछु सम्बोधनलाई सरकारले तार्किक निष्कर्षमा पुर्याउनेछ। यो निर्वाचनलाई मधेशलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्न अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनैपर्दछ।"

परिमार्जनसहितको संविधान संशोधनलाई निर्वाचनको पूर्व शर्त बनाउँदै आएका तराई केन्द्रित दललाई पनि सहमतिमा ल्याउन प्रधानमन्त्रीले आफ्नो सम्बोधनलाई उपयोग गर्न खोजेको देखिन्छ।

निर्वाचनसँगै संविधान संशोधन गरेर संविधानको स्वीकार्यता फराकिलो पार्न र राष्ट्रिय एकता सुदृढ तुल्याउ दृढ एवं प्रतिबद्ध रहेको बताउँदै उनले निर्वाचनसँग नझस्किन तराई केन्द्रित दलहरुलाई आग्रह गरे।

उनले भने, "मधेश केन्द्रित दलहरुले पनि अन्ततः आवेग होइन विवेक र राष्ट्रप्रति जिम्मेवारी देखाउनेछन् भन्नेमा सरकार विश्वस्त छ।"

'मधेशको आवेगलाई भड्काएर मुलुक विखण्डनको प्रयास भइरहेको' भन्दै प्रधानमन्त्रीले देशको कुनै पनि भेगमा देखिने अतिवाद सह्य नहुने चेतावनी दिए।

र, एकएक मतको सुरक्षा गरिने उनले प्रतिबद्धता जनाए।

देशभित्रका राजनीतिक शक्तिलाई चुनावप्रति आश्वस्त बनाउँदै उनीहरुको साथ खोजेका प्रचण्डले निर्वाचन सफल पार्न अन्तर्राष्ट्रिय समुदायको पनि साथ र समर्थनका निम्ति अपील गरेका थिए।