भारतको आर्थिक वृद्धिदर घट्यो

  • 28 फेब्रुअरी 2017
नचल्ने ब्यांकनोट तस्वीर कपीराइट AP

सन् २०१६ को अन्तिम त्रैमासिकमा भारतको आर्थिक वृद्धि सुस्ताएको छ, तर पनि अपेक्षा गरिएको भन्दा बढी नै छ।

त्यो त्रैमासिकको ७ प्रतिशत वृद्धिदर पछिल्लो त्रैमासिकको ७.४ प्रतिशत भन्दा कम हो तर विश्लेषकहरुले वृद्धिदर ६.४ प्रतिशत भन्दा कम हुने अनुमान गरेका थिए।

सरकारले भ्रष्टाचार विरोधी कदम भन्दै उच्च दरका ब्यांकनोटहरु नचल्ने घोषणा गरेपछि अर्थशास्त्रीहरुले त्यो निर्णयबाट अर्थतन्त्र नकारात्मक रुपमा प्रभावित हुने अनुमान गरेका थिए।

आर्थिक वृद्धिदर साढे ५ प्रतिशत भन्दा कम हुने अनुमान गरिएको थियो।

आगामी मार्च महिनामा सकिने आर्थिक वर्षमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने संघीय तथ्यांक कार्यालयको पूर्वानुमान कायम छ।

प्रतिकृया

तर त्यो तथ्यांकले अर्थशास्त्रीहरुलाई भने छक्क पारेको छ।

गत नोभेम्बर महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयद्वारा ५०० र एक हजारका ब्यांकनोटहरु अमान्य गरिंदा रातारात ८६ प्रतिशत ब्यांकनोटहरु काम नलाग्ने भएका थिए।

अर्थतन्त्रमा त्यसको ठूलो प्रभाव पर्ने ठानिएको थियो।

आइडिबिआइ संघीय जीवनबीमाका प्रमुख अनीश श्रीवास्तवले त्यो तथ्यांकले नोटबन्दीका सबै असरहरुलाई नसमेटेको आशंका व्यक्त गरे र त्यस्तो तथ्यांक देखेर एकदमै अचम्भित भएको बताएका छन्।