फियोंको अभियानलाई धक्का

  • 2 मार्च 2017
फ्राँस्वाँ फियों तस्वीर कपीराइट AFP

फ्रान्समा राष्ट्रपतिय निर्वाचनको दुई महिना अगाडि मध्यपन्थी दलले फ्रान्स्वाँ फियोंलाई दिइआएको समर्थन फिर्ता लिएको छ।

उक्त निर्णयले दक्षिणपन्थी उम्मेदवार फियोंको अभियानमा धक्का पुगेको छ।

तल्लो सदनमा सत्ताइस सांसद रहेको मध्यपन्थी दल युडिआइले फियोंलाई दिएको समर्थन लिने बारे अन्तिम निर्णय भने आगामी साता लिने बताएको छ।

आरोप

आफ्नी पत्नीलाई हुँदै नभएको जागिर दिलाएर सार्वजनिक सम्पत्ति लुटाएको भन्ने आरोपबारे फियोंले औपचारिक अनुसन्धान बेहोर्नुपर्ने भन्ने विवरण सार्वजनिक भएपछि सो दलले उक्त निर्णय सुनाएको हो।

उनकी पत्नी पेनेलोपीमाथि पनि अनुसन्धान हुने बताइएको छ। कैयौं वर्ष पेनेलोपिलाई संसदीय सहायकको रुपमा फियों तथा उनका उत्तराधिकारीले जागिरमा राखेको तर सो समयमा पेनेलोपिसंग संसदको कुनै पास साथमा नभएको पाइएको खबर प्रकाशित भएका छन्।

यसले कतै उनलाई जागिर नै नदिइ तलबमात्र दिएको हो कि भन्ने प्रश्न उठेका छन्।

तर फियोंले आफुले कुनै गलत काम नगरेको बताउँदै आएका छन्।

यसै घटनालाई लिएर फियोंका एक महत्वपूर्ण सहयोगीले पनि उनको साथ छाडेका छन्।

फियोंका अनुसार उनलाई मार्च १५ तारिख एक न्यायाधीश समक्ष उपस्थित हुन भनिएको छ।

उक्त मिति राष्ट्रपतिय उम्मेदवारहरुले आफ्ना अन्तिम निवेदन दिनुपर्ने समयसीमा भन्दा दुई दिन अघि हो।

निर्वाचनको पहिलो चरण एप्रिल २३ को लागि तय गरिएको छ भने त्यसबाट छानिएकाहरुमध्येको दोस्रो चरण मे ७ मा हुने छ।