‘लगानीमा चिनियाँ र भारतीय चासो’

  • 2 मार्च 2017
लगानी सम्मेलनको समुद्घाटन कार्यक्रम
Image caption दुई-दिने लगानी सम्मेलनमा विश्वका २० भन्दा बढी देशबाट २५० जनाभन्दा बढी प्रतिनिधि सहभागी भएको बताइएको छ।

नेपालमा बिहीबारबाट शुरु लगानी सम्मेलनमा सहभागी हुन आएका छिमेकी भारत र चीनका प्रतिनिधिले नेपालमा खासगरी ऊर्जा तथा पूर्वाधारका क्षेत्रमा लगानी गर्न चासो देखाएका छन्।

चीनको बेइजीङ मुख्यालय रहेको एसियाली पूर्वाधार लगानी ब्याङ्क (एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क -- एआईआईबी) का प्रमुखले नेपालमा लगानीका सम्भावनाको अध्ययन भइरहेको बताए।

भारतीय अर्थ मन्त्रीले चाहिँ भारत नेपालका विविध क्षेत्रमा लगानी गर्न प्रतिबद्ध रहेको बताए।

नेपालमा खासगरी पूर्वाधार विकासका लागि लगानी जुटाउने उद्देश्यले आयोजित लगानी सम्मेलनमा विश्वका २० भन्दा बढी देशबाट २५० जनाभन्दा बढी प्रतिनिधि सहभागी भएको बताइएको छ।

प्रतिनिधि

आयोजक लगानी बोर्ड नेपालका अनुसार सम्मेलनमा विदेशी प्रतिनिधि मध्ये चीनबाट ९० जना भन्दा बढी र भारतबाट ३० जनाभन्दा बढी निजी तथा सरकारी निकायका प्रतिनिधि सहभागी छन्।

बेइजिङ मुख्यालय रहेको एआईआईबीका अध्यक्ष जीन लीकुनले यो अवसरमा नेपाली पक्षसँग लगानीको सम्भावनाबारे छलफल गर्ने बताए।

"म आज यहाँ आउन पाउँदा निकै खुशी छु। यो बेला मैले नेपालका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्नेछु र सम्मेलन सकिएपछि भविष्यमा नेपाललाई के सहयोग गर्न सकिन्छ त्यसबारे नयाँ उपाय थाहा पाउनेछु।"

सम्मेलनमा बोल्दै भारतीय अर्थ मन्त्री अरुण जेटलीले नेपालको आर्थिक विकासका लागि विविध क्षेत्रमा लगानी गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने, "भारत नेपालको वृद्धिको आकांक्षालाई पुरा गर्न सहयोग जारी राख्न गहिरोरुपमा प्रतिबद्ध छ। जलविद्युत आयोजना तथा प्रसारण लाइन निर्माण, नयाँ सडक निर्माण, भारतको रेल सञ्जाललाई नेपालसँग जोड्ने काम, शिक्षा तथा स्वास्थ्य सम्बन्धी संस्थाहरुको विकास गर्ने जस्ता काममा भारत अहिले पनि सक्रिय रुपमा संलग्न छ।"

भारत र चीनका प्रतिनिधिहरुले खासगरी नेपालको जलविद्युत, सौर्य उर्जा, शहरी फोहर व्यवस्थापन जस्ता क्षेत्रमा लगानी गर्न चासो देखाइरहेको भएपनि ठोस प्रतिबद्धता अझै आइनसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बीबीसीलाई बताए।

उनले भने, "पछिल्ला दिनमा भारतबाट भन्दा बढी चीनबाट चासो व्यक्त भइरहेको छ। तर प्रतिबद्धता आइसकेको छैन, छलफलको क्रम चलिरहेको छ।"

सम्भावना

उनका अनुसार शुक्रबारसम्म चल्ने सम्मेलनमा भारत र चीनका प्रतिनिधिका अतिरिक्त क्यानडा, फ्रान्स, बांग्लादेश, श्रीलंका, मलेसिया र अन्य देशका प्रतिनिधिले नेपालमा लगानीको सम्भावनाबारे चासो देखाइरहेका छन्।

नेपालमा दोस्रो पटक आयोजना गरिएको लगानी सम्मेलनको उद्घाटनको क्रममा प्रधानमन्त्री प्रचण्ड र सरकारका अन्य मन्त्रीले "लगानीका लागि खुल्ला" नेपालमा लगानीमैत्री वातावरण बनेको बताए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी ओलीले वैदेशिक लगानीका विषयमा प्रतिपक्षी दल र सत्तारुढ दल एकमत रहेको जानकारी सम्मेनलका अन्तर्राष्ट्रिय सहभागीलाई दिएका थिए।