नोट साट्न नपाएसम्म ‘ताकेता’

  • 3 मार्च 2017
भारतीय रुपियाँ तस्वीर कपीराइट AFP

नेपालका ब्यांक र सर्वसाधारणसँग रहेको भारतीय पुराना नोट सटही समस्या समाधान गर्ने उद्देश्यले आएको भारतीय टोली नेपालका ब्यांकको उपभोक्ता सम्बन्धी व्यवस्थाबाट सन्तुष्ट भएर फर्केको अधिकारीहरुले बताएका छन्।

राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगानाले ब्यांकको भन्दा पहिले सर्वसाधारणसँग रहेका पुराना भारतीय नोट साटिने बताए।

तर नोट कहिले साट्न पाइने हो भन्ने निश्चित भइसकेको छैन।

राष्ट्र ब्यांक र उसँग लाइसेन्स लिएका अन्य ब्यांकहरुसँग पौने नौ करोड भारतीय पुराना नोट रहेको बताइएको छ।

ताकेता

भारतमा स्वास्थ्य उपचार, तीर्थ यात्रा, घुमघाम या सभा सम्मेलनमा सहभागी बनेर फर्कने हजारौंसँग केही मात्रामा भारतीय नोट रहेको अनुमान गरिएको छ।

भारतमा दुई महिना अघि नै कागजको खोष्टोमा परिणत भइसकेका त्यस्ता नोट साट्न नेपालको राष्ट्र ब्यांकले भारतीय अधिकारीहरुलाई बारम्बार ताकेता गर्दै आएको छ।

साट्न नपाएसम्म ताकेता गरिरहने राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगाना बताउँछन्।

उनी भन्छन्, "समाधान ननिस्केसम्म यस्तै हो हामी ताकेता गरिरहन्छौं।"

त्यस्ता पुराना नोट सटही गर्ने सुविधा पाउने वित्तिकै ब्यांकभन्दा पहिले सर्वसाधारणको पालो आउने निर्देशक ढुंगानाले बताए।

भारतले दुई महिना अघि नै ब्यांकको नोट साट्न भनेको थियो। तर सर्वसाधारणको नसाटी ब्यांकको नसाट्ने भनेका कारण रोकिएको ढुंगानाले बताए।

'सकारात्मक'

उनका अनुसार नेपालका ब्यांकको प्राविधिक व्यवस्थाबाट भारतीय टोली सकारात्मक भएर फर्केको छ।

उपभोक्ताको जानकारी राख्ने नेपालको व्यवस्थाबाट भारतीयहरु सन्तुष्ट भएर गएको बताइएको छ।

भारतीय टोलीसँग दुईदिनसम्म वार्तामा सहभागी रहेका ढुंगाना भन्छन्, "उनीहरुको खास कुरा भारतीयहरु आएर सटही लिन नसकुन् भन्ने हो। त्यसका लागि हामी पर्याप्त सावधानी अपनाउँछौं भन्ने कुरामा हामीले विश्वस्त बनाएका छौं।"

नोट साट्ने बेलामा "मैले उल्लेख गरेको विवरण कुनै किसिमले गलत निस्क्यो भने मलाई कारवाही गरे हुन्छ" भन्ने कुरा स्वीकार गर्नुपर्नेछ।

ढुंगानाले भने, "त्यस्तो पाइयो भने तीन गुणा जरिवाना र चारवर्ष सम्म कैद हाल्न पाउने व्यवस्था छ। त्यो व्यवस्था हामी कार्यान्वयनमा ल्याउँछौं।"

करिब दुई महिनाको समय दिएर भारतमा ५०० र १००० रुपैयाँका पुराना नोट खारेज गर्ने र नयाँ नोट प्रचलनमा ल्याउने घोषणा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।

गत डिसेम्बरको अन्त्यसम्ममा भारतीयहरुले आफ्ना नोट साट्न समय पाएका थिए।

जानकारहरु भन्छन् नेपालका सर्वसाधारणको नोट साट्न नमाने भारतीय नोटप्रति रहेको विश्वास अझ बढी धरमराउनेछ।