एफबिआइ अनुसन्धानबाट सेसन्स 'अलग'

  • 3 मार्च 2017
ट्रम्प तस्वीर कपीराइट Getty Images

अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले अमेरिकाको राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेप भएको भन्दै संघीय जाँच ब्यूरोले गर्न लागेको अनुसन्धानबाट आफूलाई हटाएका छन्।

गत जनवरीमा नियुक्तिका लागि भएको सुनुवाइका क्रममा रुससँग कुनै सम्पर्क छैन भन्ने आफ्नो भनाइ झुटो नभएको उनले बताएका छन्।

एउटा विज्ञप्ति जारी गर्दै उनले ट्रम्पको चुनावी अभियानसँग कुनै पनि तरिकाले सम्बन्धित विषयमा अहिले भइरहेका वा भविष्यमा हुने थप अनुसन्धानबाट आफूलाई अलग्याउने निर्णय गरेको बताएका हुन्।

राजीनामा माग

जनवरी १० मा संसदको माथिल्लो सदनमा भएको सुनुवाइका क्रममा महान्यायाधिवक्ता जेफ सेसन्सलाई सोधिएको थियो, यदि ट्रम्पको चुनावी अभियानमा जोडिएका कसैले उनको चुनावी प्रचारप्रसारका बेला रुसी सरकारसँग सम्पर्क राखेको प्रमाण भेटिए तपाईँ के गर्नुहुन्छ?

त्यसको जवाफमा सेसन्सले भनेका थिए, "म त्यस्ता खाले कुनै पनि क्रियाकलापबारे जानकार छैन। रुसीहरुसँग मेरो कुनै सम्पर्क भएको छैन। र, म यसबारे प्रतिक्रिया दिन सक्दिन।"

तर गत वर्षको चुनावी दौडका बेला उनले रुसी राजदूत सेरगेई किसल्याकसँग भेटेको भन्ने खबरहरु आएपछि डेमोक्र्याटहरुले उनको राजीनामा मागिरहेका छन्।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका डेमोक्रेटिक नेता न्यान्सी पेलोसीले सेसन्सले राजीनामा दिनुपर्ने माग गर्दै भनिन्, "देशका मुख्य अभियोजनकर्ताले आफ्नो शपथका क्रममा अमेरिकी जनतालाई ढाँटे भन्नेमा नै उनले राजीनामा दिनुपर्ने आधार छ। उनले आफू महान्यायाधिवक्ता जस्तो पदमा रहन योग्य छैन भन्ने प्रमाणित गरेका छन्।"

तस्वीर कपीराइट Getty Images

आरोप

नोभेम्बरको राष्ट्रपतीय चुनाव अगाडि भएको चुनावी अभियानकै क्रममा सेसन्स र किसल्याकले गत सेप्टेम्बरमा सेसन्सको कार्यालयमा एउटा निजी संवाद गरेको भन्ने खबरहरु आइरहेका छन्।

उनले आफूले ट्रम्पको चुनावी प्रचारप्रसारका बेला सहयोगीको रुपमा नभइ सिनेटरका रुपमा उनीसँग भेटेको बताए।

किस्ल्याक तिनै राजदूत हुन् जोसँगको सम्पर्क भएको भन्ने आरोप माझ नै गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले पदबाट बाहिरिनु परेको थियो।

यसबिच, वाशिंगटनस्थित न्याय मन्त्रालयमा भएको एउटा समाचार सम्मेलनमा बोल्दै सेसन्सले आफूले सुनुवाइका क्रममा इमान्दार भएर सही कुरा बोलेको बताएका हुन्।