मोसुलमा 'रासायनिक अस्त्र पीडित'को उपचार

  • 3 मार्च 2017
मोसुल तस्वीर कपीराइट Reuters

रासायनिक अस्त्रले लामो समयसम्म पीडित भएको संकेत देखिने ५ बालबालिका र २ महिलाको मोसुल नजिकैको एउटा अस्पतालमा उपचार भइरहेको बताइएको छ।

जिनिभाबाट जारी गरिएको एउटा वक्तव्यमा आइसीआरसीले त्यस्ता सात जना बिरामीलाई चर्को भिडन्त जारी रहेको मोसुल नजिकैको रोजहवा अस्पतालमा भर्ती गरिएको बताइएको छ।

मोसुलमा जारी भीडन्तमा रासायनिक अस्त्र प्रयोग गरेको कुनै पनि सहायता संस्थाले पुष्टि गरेको यो पहिलोपटक हो।

अन्तर्राष्ट्रिय कानुन अन्तर्गत त्यस्ता रासायनिक अस्त्र प्रतिबन्धित छन्।

जिनीभाबाट बीबीसी संवाददाता इमोजेन फूक्स भन्छिन, छालामा घाउ, खोकी र उल्टीको समस्या देखिएका ५ जना बालबालिका र २ जना महिला रोजहवा अस्पतालमा भर्ती गरिएका छन्।

आइसीआरसी अनुसार रासायनिक अस्त्रको प्रयोग गरिएमा त्यस्ता लक्षण देखिन्छन्।

आशंका

कुन रसायन प्रयोग गरिएको हो त्यो रेडक्रसले बताएको छैन।

तर इराकी सेनाले इस्लामिक स्टेट भनिने समूहले क्लोरिन ग्यासको प्रयोग गरेको हुन सक्ने आशंका व्यक्त गरेको छ।

मोसुलमा कारवाही शुरु हुने बेलामा नै सहायता संस्थाहरुले रसायनिक अस्त्रको प्रयोग हुनसक्ने बारे चिन्तित रहेको स्पष्ट पारेका थिए।

रेडक्रस र विश्व स्वास्थ्य संगठन दुबैले स्थानीय अस्पतालहरुलाई विशेष उपकरण र तालिम दिएका छन्।