‘१४ खर्ब रुपैंयाँ लगानी गर्ने प्रतिबद्धता’

  • 3 मार्च 2017
उद्योग मन्त्री (बीचमा)
Image caption लगानीकर्ताको चासोबाट आफूहरु हौसिएको सरकारी अधिकारीहरुले बताएका छन्।

काठमाण्डूमा सम्पन्न लगानी सम्मेलनमा नेपाली तथा विदेशी प्रतिनिधिहरुले नेपालमा विभिन्न उद्योग-धन्धामा १४ खर्ब रुपैंयाँभन्दा बढी रकम लगानी गर्ने मनसाय देखाएको नेपाल सरकारले जनाएको छ।

दुई-दिने लगानी सम्मेलनमा चिनियाँ कम्पनीहरुले सबैभन्दा धेरै, आठ खर्ब रुपैंयाँभन्दा बढी, रकम लगानी गर्ने प्रतिबद्धता जनाएको अधिकारीहरुको भनाइ छ।

चीनपछि क्रमश: बांग्लादेश, जापान, ब्रिटेन, श्रीलंका, भारत र नेपालका कम्पनी विभिन्न क्षेत्रमा धनराशी लगानी गर्न इच्छुक देखिएका छन्।

२५ वर्षपछि नेपालमा आयोजित लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरु नेपालका विविध क्षेत्रमा अपेक्षाभन्दा बढी धनराशी लगानी गर्न अघि सरेपछि आयोजक उद्योग मन्त्रालय र लगानी बोर्डका अधिकारीहरुले आफू निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

'लगानी'

उद्योग मन्त्री नवीन्द्रराज जोशीले भने, "लगानी गर्न धेरैले इच्छा देखाएका छन्। यो गौरवको विषय हो।"

अधिकारीहरुका अनुसार सम्मेलनमा नेपालसहित ७ देशका १६ कम्पनीबाट नेपालमा १४ खर्ब रुपैंयाँभन्दा बढी लगानी गर्न 'लेटर अफ इन्टेन्ट्' अर्थात आसयपत्र प्राप्त भएको छ।

ती कम्पनीले नेपालमा विमानस्थल, सडक, रेलमार्ग, सुरुङमार्ग, जलविद्युत केन्द्र, सौर्य उर्जा, अस्पताल र अन्य उद्योग-धन्धामा लगानी गर्न चासो देखाएका छन्।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार सम्मेलनमा प्राप्त आसयपत्रलाई अब प्रतिवद्धतामा बदल्ने काम शुरु हुनेछ।

"अब प्राप्त इच्छापत्रलाई हिजोको भन्दा प्रभावकारी ढंगले प्रतिवद्धतामा ढाल्दै कार्यान्वयन गराउने दायित्व हाम्रो काँधमा आएको छ," उनले भने।

अग्रसरता

चीनबाट ६ वटा कम्पनीले नेपालमा लगानी गर्न चासो देखाएपनि दक्षिणी छिमेकी भारतबाट तुलनात्मक रुपमा कम, अर्थात तीन कम्पनीले मात्र त्यस्तो अग्रसर देखाएका छन्।

बांग्लादेशको एक कम्पनी नेपालमा खाद्य र निर्माण उद्योगमा अढाई खर्ब रुपैयाँ भन्दा बढी लगानी गर्न अग्रसर भएको छ।

ब्रिटेनको एक कम्पनीले नेपालमा उर्जा, कृषि र पूर्वाधारको फाँटमा लगभग एक खर्ब रुपैंयाँ लगानी गर्ने इच्छा देखाएको छ।

जापानको एक प्रख्यात उर्जा कम्पनी नेपालमा एक हजार मेगावाटसम्मको जलविद्युत आयोजनामा एक खर्ब रुपैंयाभन्दा बढी लगानी गर्न अघि सरेको बताइएको छ।

त्यस्तै श्रीलंकाको एक कम्पनीले जलविद्युत, सौर्य र वायु उर्जाको क्षेत्रमा आधा खर्ब रुपैंयाभन्दा बढी लगानी गर्न चासो दिएको छ।

प्रस्ताव

सम्मेलनमा २० भन्दा बढी देशका २८५ अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी भएको बताइएको छ।

उद्योग मन्त्रालयका अनुसार आउने दिनमा प्राप्त आसयपत्रको समीक्षा गर्दै ती कम्पनीहरुबाट प्रस्ताव माग्ने काम थालिनेछ।

मन्त्रालयले नेपालमा लगानीको वाधक मानिने प्रशासनिक झन्झटलाई कम गर्दै अनलाइनमार्फत कम्पनी दर्ता गर्ने काम पनि छिट्टै प्रारम्भ गरिने जनाएको छ।