फियोँका चुनावी अभियान संयोजकको राजीनामा

  • 4 मार्च 2017
फ्रास्वाँ फियोँ तस्वीर कपीराइट AFP

फ्रान्सको राष्ट्रपतीय चुनावका उम्मेदवार फ्रास्वाँ फियोँका चुनावी अभियानका संयोजक पेट्रिक स्तेफेनेनीले शुक्रबार अबेर राजीनामा दिएका छन्।

फियोँले, गर्दै नगरेको संसदीय कामका लागि आफ्नो श्रीमती र सन्तानलाई रकम उपलब्ध गराएर भ्रष्टाचार गरेको भन्ने आरोप उनीमाथि लाग्दै आएको छ।

फियोँले यसअघि नै आफ्नो चुनावी अभियानका कैयौँ महत्वपूर्ण सदस्यहरु गुमाइसकेका छन्।

सुझाव

फ्रान्सको राष्ट्रपतीय चुनावका उम्मेदवार फ्रास्वाँ फियोँका चुनावी अभियानका संयोजक पेट्रिक स्तेफेनेनीले आफ्नो राजनीमा आइतबार रातिबाट लागू हुने बताएका छन्।

स्तेफेनेनीले आफ्नो राजीनामा पत्रमा राजीनामा दिनुको दुईवटा कारण उल्लेख गरेका छन्।

आर्थिक मामिलामा फियोँबारे अनुसन्धान शुरु भएपछि आफूले उनलाई चुनावी प्रचारप्रसार रद्द गर्न सुझाव दिएको बताएका छन्।

तर फियोँले प्रचारप्रसारलाई निरन्तरता दिएपछि आफूले उनको राजनीतिक टोलीमा अल्पमतमा परेको महसुस गरेकोले उक्त अभियानको नेतृत्व गर्नका लागि आफूलाई उचित स्थानमा नपाएको बताएका हुन्।

अर्को कारणमा चाहिँ स्तेफेनेनीले, फियोँ, पहिलो चरणको मतदानबाट नै नबाहिरिएलान् भन्ने पक्का नभएको उल्लेख गरेका छन्।

तस्वीर कपीराइट AFP
Image caption रिपब्लिकन पार्टीका केही सांसदहरु गत नोभेम्बरको प्रारम्भिक चुनावमा फियोँसँग हारेका याँलाँ जुप्पेलाई उनको ठाउँमा उम्मेदार बनाउनुपर्ने भन्दै अभियान चलाइरहेका छन्।

समर्थन

फियोँकै रिपब्लिकन पार्टीका धेरै मानिसले उनलाई चुनावबाट पछि हट्न भनिरहेका छन् र उनले युनियन अफ डेमोक्र्याट्स एण्ड इन्डिपेन्डेन्ट्सहरुको पनि समर्थन गुमाएका छन्।

फियोँले आफ्नी श्रीमती र सन्तानलाई गर्दै नगरेको कामका लागि रकम दिएको भन्ने आरोप अस्वीकार गरेका छन्।

उनले आफू राजनीतिक हत्याको शिकार भएको भन्दै प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।

फियोँको साथ छोड्ने पार्टीभित्रका उनी पछिल्ला उच्च अधिकारी हुन्।