ट्रम्पको आरोप झुटो: ओबामाका प्रवक्ता

  • 5 मार्च 2017
बराक ओबामा र डोनल्ड ट्रम्प तस्वीर कपीराइट Reuters

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियान अघि न्यूयोर्कस्थित ट्रम्प टावरको फोन ट्याप गरेका थिए भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको आरोपको ओबामाका प्रवक्ताले खण्डन गरेका छन्।

प्रवक्ता केविन लुईसले ओबामा र ह्वाइट हाउसका त्यतिबेलाका कर्मचारी कसैले पनि कुनै पनि अमेरिकि नागरिकको त्यसरी निगरानी गर्न आदेश नदिएको बताए।

ट्रम्पले श्रृंखलाबद्ध रुपमा ट्वीट गर्दै फोन ट्याप गर्नु नराम्रो काम भएको र आफ्ना पूर्ववर्ती एकदमै खराब व्यक्ति भएको भनि व्याख्या गरेका छन्।

'खराब व्यक्ति'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामालाई आरोप लगाउँदै ट्वीटमा लेखेका छन्, 'भर्खरै थाहा भयो ओबामाले म चुनावमा विजयी हुनुअघि ट्रम्पटावरका मेरा फोन ट्याप गरेका रहेछन्। तर केही भेटेनन्। कस्तो खराब।'

ट्रम्पले ट्वीटमा लेखेका आफ्नो दाबी पुष्टि गर्ने कुनै विवरण भने दिएका छैनन्।

ओबामाका प्रवक्ता केविन लुईसले ओबामा र उनको प्रशासनका अधिकारीले कुनै पनि अमेरिकी नागरिकको जाशुशी गर्न आदेश नदिएको बताएका छन्।

आफ्नो विज्ञप्तिमा लुईसले भनेका छन्, "न्याय मन्त्रालयले स्वतन्त्र ढंगबाट गरेको अनुसन्धानमाथि हस्तक्षेप नगर्ने नियम ओबामा प्रशासनको थियो।"

तस्वीर कपीराइट Reuters

सम्भावना

उक्त विज्ञप्तिले न्यायिक छानबिन भने चलिरहेको थियो भन्ने सम्भावनालाई खुल्ला छोडेको छ।

वासिङ्टनस्थित बीबीसी संवाददाता लउरा बिकरले भनिन्, "राष्ट्रपतीय चुनाव जित्नका लागि रुसले सहयोग गर्न चाहेको थियो र कतै उनको चुनावी अभियान क्रेमलिनका अधिकारीहरुसँग बनाइएको त थिएन भन्ने दाबीले राष्ट्रपति ट्रम्पको पिछा छोडेको छैन।"

यसअघि ओबामाका विदेश नीति सल्लाहकार बेन रोड्सले ट्रम्पको दाबीबारे बोल्दै ट्वीटमा लेखेका थिए, 'कुनै पनि राष्ट्रपतिले फोन ट्याप गर्न निर्देशन दिनसक्दैनन। त्यस्तो प्रतिबन्ध तपाईँ जस्तै व्यक्तिबाट नागरिकलाई जोगाउनका लागि राखिएको हो।'

फ्लोरिडास्थित आफ्नो रिसोर्टमा रहेका ट्रम्पले स्थानीय समय अनुसार शनिबार विहानको साढे ६ बजे श्रृंखलाबद्ध ट्वीट गरेका थिए।