‘स्थानीय चुनावका लागि संशोधन जरुरी छैन’

  • 5 मार्च 2017
प्रचण्ड तस्वीर कपीराइट Prachanda's website

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग संविधान संशोधनको लिखित वाचा गरेर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनकै लागि संशोधन आवश्यक नरहेको बताएका छन्।

संशोधनलाई चुनावको अनिवार्य शर्तको रुपमा अघि सारेको मोर्चालाई उनले आन्दोलनको बाटो त्याग्न आह्वान गरे।

नेकपा एमालेको मेची-महाकाली यात्राको विरोधमा उत्रिएको मोर्चाको निर्णयतर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले शान्तिपूर्ण रुपमा जनतामाझ जान पाउने संवैधानिक अधिकारबाट बञ्चित गरी द्वन्द्वको स्थिति ननिम्त्याउन पनि आग्रह गरेका छन्।

संविधान संशोधन नगरी सरकारले स्थनीय तहको निर्वाचन घोषणा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन थालेपछि चुनावबारे कतिपयले आशंका व्यक्त गरिरहँदा प्रधानमनत्री प्रचण्डले कुनैपनि हालतमा चुनाव स्थगित नहुने बताए।

आवश्यकता

मोर्चाले भनेजस्तो स्थानीय तहको निर्वाचनसँग संविधान संशोधनको विषयले खासै महत्व नराख्ने भन्दै प्रधानमन्त्री प्रचण्डले चुनावमा सहभागी हुन मोर्चालाई आग्रह गरे।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आइतबार विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा संञ्चारकर्मीसँग भने, "स्थानीय तहका निम्ति त्यो पारित हुनुपर्छ भन्ने जरुरी पनि होइन। मैले मोर्चाका नेता साथीहरुसँग पनि कुरा गरिरहेको छु। प्रान्तीय निर्वाचन र संसदीय निर्वाचनका निम्ति संशोधन प्रस्ताव पारित हुनुको जति महत्व र आवश्यकता हो, स्थानीय चुनावका लागि त्यति आवश्यक पनि होइन।"

प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेताहरुलाई परेको अप्ठ्यारो हटाउन स्थानीय तहको संख्या थप गरी संविधान संशोधनको प्रयास जारी राख्ने प्रतिबद्धता समेत दोहोर्याए।

उनले थपे भने, "उहाँहरुको पनि अप्ठ्यारा छन् किनकि त्यत्रो आन्दोलन भयो मानिसहरुको ज्यान गयो। अब संशोधन विधेयकमा केही पनि नहुँदै सजिलै चुनावमा आउन उहाँहरुलाई अप्ठ्यारो छ। त्यो अप्ठ्यारोलाई कम्तीमा पनि स्थानीय तहको संख्याद्वारा सम्बोधन भएपछि र संशोधन विधेयक पास गर्ने प्रयास निरन्तर जारी भएपछि उहाँहरु आउनुहुन्छ र आउनु पनि पर्छ।"

अधिकार

फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुरु गरेको तराई केन्द्रित अभियानमा अवरोध पुर्याउने मोर्चाका केही नेताको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए।

शान्तिपूर्ण ढंगले आफ्ना कार्यक्रम गर्न सबैलाइ अधिकार भएको उनले स्मरण गराए।

प्रधानमन्त्रीले भने, "त्यसमा कसैले पनि व्यवधान आउन दिनुहुँदैन। मधेशी मोर्चालाई पनि आफ्ना कुरा राख्ने अधिकार छ। प्रतिपक्षीले पनि कार्यक्रम गर्न पाउने अधिकार छ। एकअर्काको त्यो अधिकारलाई सबैले सम्मान गर्नुपर्छ।"

कुनै पनि प्रकृतिको राजनीतिक द्वन्द्व निम्तिन नदिन सरकार संवेदनशील रहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।