उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

  • 6 मार्च 2017
ब्यालिष्टिक क्षेप्यास्त्र तस्वीर कपीराइट EPA

उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र 'सि अफ जापान' तर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाले बताएको छ।

चीनको उत्तरी सीमा नजिकैको तोङचाङ-रि क्षेत्रबाट सोमबार उक्त क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाको सेनाले जनाएको हो।

तोङचाङ-रिस्थित क्षेप्यास्त्र आधार शिविरबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्र करिब हजार किलोमिटर उडेको जनाएको छ।

गत महिना पनि उत्तर कोरियाका नेता किम जंग उनको सुपरिवेक्षणमा एउटा नयाँ किसिमको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परिक्षण भएको थियो।

अनुसन्धान

दक्षिण कोरियाको सेनाका अधिकारीले, स्थानीय समय अनुसार सोमबार विहानको ७ बजेर ३६ मिनेटमा गरिएको पछिल्लो परिक्षणमा कस्तो खालको प्रक्षेपण प्रयोग गरिएको थियो भन्ने पत्ता लगाउन अनुसन्धान भइरहेको बताएका छन्।

सोहे स्याटालाइट लन्चिङ स्टेशन रहेको तोङचाङ-रि क्षेत्रमा भइरहेका पछिल्ला गतिविधि जापानका अधिकारीहरुको चासोको कारण बनेको छ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले उक्त क्षेप्यास्त्र प्रहारबारे बोल्दै भने, "उत्तर कोरियाले आज प्रहार गरेको चारवटा क्षेप्यास्त्र मध्य तीनवटा हाम्रो आर्थिक क्षेत्रभित्र पर्ने सामुद्रिक इलाकामा खसेको छ। जापानले यसबारे सुचना संकलन र त्यसको विश्लेषण गर्दैछ। यसले उत्तर कोरियाबाट नयाँ खतरा आउन लागेको प्रमाण स्पष्ट रुपमा दिएको छ।"

उक्त क्षेत्रका मुख्य ठाउँहरुमा सम्भवत स्याटेलाइटको निगरानी गरिएको दक्षिण कोरियाको योन्याब समाचार संस्थाले जनाएको छ।

तस्वीर कपीराइट AFP

निन्दा

उत्तर कोरियाले आफ्ना गतिविधि शान्तिपूर्ण भएको दोहोर्याउँदै आएको छ।

तर उसले अमेरिकालाई धक्का दिने गरी अन्तर्महादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र निर्माण गरिरहेको ठानिएको छ।

परमाणु प्रविधि अथवा कुनै पनि किसिमको क्षेप्यास्त्र परिक्षण गर्ने कुनै पनि देशलाई संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ।

फेब्रुअरीमा गरिएको परिक्षणको संयुक्त राष्ट्रसंघ, अमेरिका, जापान र दक्षिण कोरियाले निन्दा गरेका थिए।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हंग ग्यो वानले राष्ट्रिय सुरक्षा बैठक बोलाएका छन्।