दुई महिनामा भारतीय नोट साट्न सकिने आशा

  • 6 मार्च 2017
पाँच सय दरका भारतीय नोट तस्वीर कपीराइट AFP

नेपालका ब्यांक र सर्वसाधारणसँग रहेको ५०० र १००० का प्रतिबन्धित पुराना भारतीय नोट सटही गर्न अझै कम्तिमा दुई महिना कुर्नुपर्ने नेपाल राष्ट्र ब्यांकका अधिकारीहरुले जनाएका छन्।

भारतमा रोक लगाईएका नोट सटहीसँग सम्बन्धित समस्या समाधान गर्ने उद्देश्यले केहि दिन अघि नेपाल आई अध्ययन गरि फर्केको भारतीय टोलीले बुझाउने रिपोर्टका आधारमा नै भारत सरकारले नेपालमा रहेका पुराना भारतीय नोट साट्ने अधिकारीहरुको विश्वास रहेको छ।

नेपाल आएको भारतीय टोलीले जस्तै अर्को टोली भुटानको सटही समस्याका बारे बुझ्न गएको थियो। दुवै टोलीको प्रतिवेदन पछि पुराना भारतीय नोट सटही समस्याले निकास पाउने आशा नेपाल राष्ट्र ब्यांकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले व्यक्त गरेका छन्।

आश्वासन

उनले भने, "भारतीय रिजर्व ब्यांकको भुटान जाने टिमले र नेपाल आएको टिमले रिपोर्ट दिएपछि, भारत सरकारले सटहीको कुरा अगाडी बढाउंछ की भन्ने हामीलाई लागेको छ।"

नेपाल आएको भारतीय टोलीको आश्वासन र भर्खरै नेपाल भ्रमण गरेर फर्केका भारतीय वित्तमन्त्री अरुण जेट्लीको सार्वजनीक प्रतिवद्धताका कारण भारतीय नोट साटिने अन्यौल अन्त्य हुने आशा अधिकारीहरुमा पलाएको हो।

प्रकृया

कम्तिमा दुई तीन हप्तामा भारतिय रिजर्व ब्यांकले आफुहरुलाई खबर गरेपछी त्यसको सात दिनमा नोट साट्न सार्वजनीक सुचना निकाल्न सकिने उनको भनाई छ।

''सात दिनको सुचना निकालेपछि कलेक्शन गर्न लगभग कम्तिमा १५ दिन चाहिन्छ। अरु १५ दिनमा व्याङ्कहरुले राष्ट्र ब्यांकलाई देलान्। त्यसपछि हामिले रिजर्व ब्यांकमा पठाउँला। यो सवै प्रकृया पुरा गर्दाखेरी कम्तिमा दुई महिना त लाग्छ।"

यसअघि राष्ट्र ब्यांकले ब्यांकहरुको भन्दा पहिले सर्वसाधारणसँग रहेका पुराना भारतीय नोट साटिने बताएको थियो।

भारतमा ५०० र १००० रुपैयाँका पुराना नोट खारेज गर्ने निर्णय सँगै गत डिसेम्बरको अन्त्यसम्ममा नोट साट्ने समय दिईएको थियो।

तर नेपालमा रहेका ५०० र १०००का भारतीय मुद्रालाई लिएर चिन्ता व्यक्त हुँदै आएको छ।

राष्ट्र ब्यांक सहित नेपालमा झण्डै पौने नौ करोड भारतीय पुराना नोट रहेको बताइएको छ।