फ्रान्समा जुपे 'उम्मेदवार नबन्ने'

  • 6 मार्च 2017
जुपे र फियों तस्वीर कपीराइट AFP

फ्रान्सका भूतपूर्व प्रधानमन्त्री अलाँ जुपेले आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनमा भाग नलिने स्पष्ट पारेका छन्।

फियों आफ्ना परिवारलाई नक्कली जागिर दिएर सरकारी तलब दिएको आरोप अस्वीकार गर्दै आएका छन्।

आगामी अप्रिल महिनामा हुने निर्वाचनको पहिलो चरणभन्दा अघि फियोंले आफ्नो पार्टीभित्र र मत सर्वेक्षणहरुमा समर्थन गुमाइरहेका छन्।

उनको विकल्पका रुपमा हेरिएका जुपेले उनको जिद्दीपनाको निन्दा गरेका छन्, तर आफू भने उम्मेदवार नबन्ने बताएका छन्।

मत सर्वेक्षणहरुमा फियों पहिलो चरणभन्दा अगाडी नबढ्ने तर जुपे दोस्रो चरणसम्म पुग्न सक्ने सम्भावना बताइएको थियो।

हल्ला

एक महिना भन्दा बढी समयदेखि फियोंका विरुद्धमा हल्ला चलिरहेका छन्।

पत्नी पेनेलोपीले काम नगरेपनि उनलाई थुप्रै वर्षसम्म संसदीय सहायकको तलब दिएको आरोप उनले अस्वीकार गरिरहेका छन्।

उनकी श्रीमतीले भने त्यस्तो काम आफूले गरेको भन्दै सबैकुरा वैधानिक भएको बताएकी छिन्।

आइतबार प्यारिसमा गरिएको एउटा जुलुसमा फियोंले दसौं हजार समर्थकहरुलाई आफू लडिरहने बताएका थिए।

स्पष्टिकरण

उनको चुनावी अभियानका थुप्रै महत्वपूर्ण सदस्यले उनलाई त्यागिसकेका छन् र रिपब्लिकन पार्टीका थुप्रै प्रमुख नेता पनि उनीप्रति समर्थन जारी राख्न हिच्किचाइरहेका छन्।

जुपेले पार्टीभित्रको निर्वाचनको पहिलो चरणमा पराजीत भएपछि विकल्पका रुपमा चुनाव नलिने स्पष्ट पारिसकेका थिए।

सोमबार उनले त्यही कुरा दोहोर्याउँदै आफूले पार्टीलाई एकताबद्ध गराउने समय बितिसकेको बताएका छन्।

भूतपूर्व प्रधानमन्त्री जुपेले फियोंको निन्दा गर्दै फियोंले न्यायाधीश र सञ्चार माध्यमको निन्दा गरेर अवसरहरु गुमाएको टिप्पणी गरेका छन्।

घट्दो समर्थन

फियोंले ठगीको औपचारिक अनुसन्धानको शुरुवातमा आगामी हप्ता न्यायाधीशका सामु उपस्थित हुनुपर्ने छ।

उनीमाथि उम्मेदवारी त्याग्ने दबाब बढ्दै जाने देखिन्छ।

उनको घट्दो लोकप्रियता र जुपेको निर्णयले युवा पुस्ताका मध्यमार्गी उम्मेदवार इमानुएल माक्रोंलाई बाटो खुलाइदिए जस्तो देखिन्छ।

मत सर्वेक्षणहरुमा उनी प्रतिद्वन्द्वी मरीन ले पेन भन्दा निकै अघि देखिन्छन्।

प्रश्नचिह्न

भूतपुर्व राष्ट्रपति निकोलस सार्कोजीमाथि भने ठूलो प्रश्नचिह्न अझै बाँकी छ।

पार्टीको निर्वाचनमा फियों र जुपेबाट पराजीत सार्कोजीले ती दुईजनासंग आकस्मिक वार्ता गर्ने आह्वान गरेका थिए।

उनले आफूलाई विकल्पका रुपमा प्रस्तुत गर्ने हुन् कि भन्ने प्रश्न उठिरहेको छ।

तर पार्टीका प्रमुख नेताहरुले मिलेर सबैलाई मान्य हुने कुनै नयाँ उम्मेदवार प्रस्तुत गने सम्भावना पनि अझै बाँकी छ।