‘मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने’

  • 7 मार्च 2017
सप्तरी प्रदर्शन

मध्ये तराईको सप्तरीमा नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सोमबार भएको घटनापछि सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिन लागेको मधेश केन्द्रित दलहरुको मोर्चाका एक नेताले बताएका छन्।

तीन जना प्रदर्शनकारीको ज्यान गएपछि मोर्चाले त्यसका निम्ति उसकै शब्दमा सरकारको राज्य आतंक अनि विपक्षी एमालेको भड्काउपूर्ण अभिव्यक्ति जिम्मेवार भएको जनाएको छ।

मोर्चामा आवद्ध सदभावना पार्टिका महासचिव मनिष सुमनले भने, "संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सबै घटकहरुले सरकारलाई दिंदै आएका समर्थन मंगलबार फिर्ता लिंदैछन्। बैठकपश्चात सभामुख वा राष्ट्रपतिलाई यो निर्णयको लिखित पत्र नै बुझाउनेछौं। साथै मधेशमा मंगलबार र बुधबार आम हडताल घोषणा गरेका छौं।"

प्रदर्शन

प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु र अन्य थुप्रै प्रदर्शनकारीहरु घाइते भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सप्तरी जिल्ला संयोजक दिनेश यादवले जनाए।

"अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भइ उपचार भइरहेकाको नाम पनि शुरुमा मृत्यु हुनेको संख्यामा जोडिएको थियो। अहिले पनि पाँचजनाको गम्भीर हालतमा उपचार भइरहेको छ। अन्य चालिसजना घाइते छन्," यादवले बताए।

स्थगन

एमालेले तीन दिनका निम्ति आफ्नो अभियान स्थगित गरेको जनाएको छ।

उसले एक विज्ञप्ति जारी गर्दै मुलुकलाई जबरजस्ती मुठभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्तत: संविधानलाई असफल पार्ने षडयन्त्र भइरहेको विश्लेषण पार्टीले विगतमा गरेको उल्लेख गरेको छ।

"सोमबारको घटनाले मधेशी मोर्चाको आवरणमा भइरहेका यस्ता षडयन्त्रकारी र विध्वंसात्मक गतिविधिलाई पुष्टि गरेको छ," विज्ञप्तिमा उल्लेख छ।

सप्तरीको धरमपुरमा राती बास बस्ने एमाले नेताहरुको कार्यक्रम रहेपनि प्रहरीले उनीहरुलाइ अन्यत्र पठाएको बताइएको छ।

एमालेका एकजना नेताका अनुसार पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतलाई विराटनगर र अन्य नेताहरुलाई बर्दीबास तर्फ मध्यरातमा पठाइएको थियो।

तराईका जिल्ला सदरमुकामहरु र पूर्व पश्चिम राजमार्गको केही स्थानमा बिहानैदेखि टायर बालेर मोर्चाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्।