यात्रा प्रतिबन्धबारे ट्रम्पको नयाँ आदेश

  • 7 मार्च 2017
डोनल्ड ट्रम्प तस्वीर कपीराइट Twitter

यसअघि सातवटा देशमाथि प्रतिबन्ध लगाइएकोमा पछिल्लो कार्यकारी आदेशमा इराकलाई हटाइएको छ।

इराकका नागरिकलाई अमेरिका प्रवेश अनुमति पत्र दिँदा थप उपायहरु अपनाइने सहमति भएपछि उसमाथिको प्रतिबन्ध हटाइएको हो।

ट्रम्प प्रशासनका उच्च अधिकारीहरुले, अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि मुसलमान बहुल ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने नयाँ कार्यकारी आदेश एकदमै महत्वपूर्ण उपाय भएको भन्दै त्यसको बचाउ गरेका छन्।

कार्यकारी आदेश

सबै शरणार्थीहरुलाई १ सय २० दिन प्रतिबन्ध लगाइने समेत उल्लेख भएको उक्त कार्यकारी आदेश मार्चको १६ तारिखबाट लागू हुनेछ।

संघीय अदालतले पछि रोक लगाइदिएको यसअघिको आदेशले विमानस्थलमा दुविधाको वातावरण श्रृजना गरेको थियो र त्यसविरुद्ध प्रदर्शनहरु भएका थिए।

आतंकवादको धम्कीविरुद्ध राष्ट्रिय सुरक्षा बलियो बनाउने भन्दै ल्याइएको उक्त आदेशलाई विभिन्न अदालतहरुले त्यतिखेर रोक लगाइदिएका थिए र त्यो रोक अहिले जारी नै छ।

नयाँ कार्यकारी आदेशको खुलासा विदेशमन्त्री रेक्स टिलर्सन, महान्यायाधिवक्ता जेफ सेसन्स र होमल्याण्ड सेक्युरिटीका प्रमुख जन केलीले गरेका थिए।

विदेशमन्त्री टिलर्सनले आतंककारीहरुलाई देशबाहिरै राख्नका लागि नयाँ आदेश गरिएको बताएका छन्।

तस्वीर कपीराइट Getty Images

यात्रा प्रतिबन्ध

विदेशमन्त्री टिलरसनले भने, "विश्वभरका हाम्रा सहयोगी तथा साझेदारहरु, उग्र इस्लामवादी आतंकवादले विनाशकारी अन्त्य निम्याउनसक्ने खतरा टार्नका लागि भइरहेको प्रयासका रुपमा यसलाई बुझिदिनुहोला। विदेशमन्त्रालयले अन्य संघीय संघसंस्थासँग मिलेर यो अस्थायी प्रतिबन्ध व्यवस्थित तरिकाले लागू गर्नेछ।"

केलीले आतंकवादी खतराविरुद्ध अमेरिकाको बलियो प्रतिरक्षा नभएको यथार्थ रहेको र दुश्मनहरुले अमेरिकाले देखाउने स्वतन्त्रता र उदारता अमेरिकाविरुद्ध नै प्रयोग गर्नसक्ने बताए।

महान्यायाधिवक्ता सेसन्सले आतंकवादी आक्रमण गर्नसक्ने आशंकामा ३ सय भन्दा बढी शरणार्थीहरुविरुद्ध अनुसन्धान भइरहेको बताएका छन्।

जनवरी २७ तारिखमा जारी गरिएको पहिलो कार्यकारी आदेशमा पनि रहेका इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमनका नागरिकमाथि ९० दिन यात्रा प्रतिबन्ध लगाइएको छ।

तर नयाँ कार्यकारी आदेशमा विदेशमन्त्रालयले स्वीकृति दिइसकेका शरणार्थीहरुले भने अमेरिका प्रवेश गर्न पाउने उल्लेख छ।

उसले सिरियाली शरणार्थीमाथि अनिश्चित कालका लागि लागेको यात्रा प्रतिबन्ध पनि हटाएको छ।