मोर्चाद्वारा सरकारलाई सातदिने म्याद

  • 7 मार्च 2017
संघीय गठबन्धन बैठक

सरकार गठनमा सघाएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहितको संघीय गठबन्धनले स्थानीय चुनाव स्थगन र संविधान संशोधन गर्न सरकारलाई सात दिने समय-सीमा दिएको छ।

सप्तरी घटनाको भोलिपल्ट बसेको गठबन्धनको बैठकले त्यसो नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सप्तरी घटनालाई लिएर एमालेप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाएको मोर्चा संलग्न संघीय गठबन्धनको बैठकमा सरकारलाई दिइएको समर्थनबारे छलफल भएको थियो।

जानकारी

विगतदेखि नै संविधान संशोधनलाई स्थानीय चुनावको पूर्वशर्त बनाएको गठबन्धनका संयोजक उपेन्द्र यादवले भने, "सरकारलाई जुन कारणले समर्थन दिइएको थियो, त्यसको निम्ति एक हप्ताको समय दिने र पुरा नभए सोझै समर्थन फिर्ता हुने जानकारी प्रधानमन्त्रीलाई गराइने छ।"

प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई बुधबार छलफलमा बोलाएका छन्।

बैठकले सप्तरी घटनाको विरोधमा नेपालबन्द लगायतका विरोध कार्यक्रम समेत सार्वजनिक गरेको छ।

सप्तरी घटनापछि दलहरुबीच आरोप प्रत्यारोप शुरु भएको छ।

हत्या-प्रयास

मधेशी मोर्चाले सप्तरी घटनाको दोषी एमालेमाथि लगाएकै भोलिपल्ट एमालेले भने घटनाको सम्पूर्ण जिम्मेवारी मधेशीमोर्चाले लिनु पर्ने बताएको छ।

प्रमुख प्रतिपक्षी एमालेले आफ्नो कार्यक्रमका सिलसिलामा सप्तरीमा आफ्ना नेताहरुको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास भएको दावी पनि गरेको छ।

एमाले नेता प्रदीप ज्ञवालीले भने, "कार्यक्रम सकिनु पहिले कार्यक्रम स्थलमै घुसपैठ गर्ने प्रयास भयो, बाहिरको स्थितिलाई उत्तेजित बनाउने काम गरियो। त्यो हेर्दा नेताहरुलाई बाहिर निकाल्ने र सुरक्षा घेरा नाघेर नेताहरुसम्म पुग्ने योजना बनाएको देखियो।"

तस्वीर कपीराइट uml

एमालेले घटनापछि स्थगित गरेको आफ्नो मेची-महाकाली कार्यक्रम २७ गते हेटौंडाबाट फेरि अघि बढाउने जनाएको छ।

सप्तरी घटनालाई लिएर सुरक्षा निकायको व्यवहारमा प्रश्न उठिरहेका बेला गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी सहित सशस्त्र र नेपाल प्रहरीका त्यहाँस्थित प्रमुखलाई फिर्ता बोलाएर नयाँ प्रमुख तोकिएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए।

गृहमन्त्री बिमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिनुका साथै तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन निर्देशन समेत दिएको बताइएको छ।