काबुलको अस्पतालमा आक्रमण

  • 8 मार्च 2017
तस्वीर कपीराइट AP

काबुलस्थित अफगानिस्तानको सबभन्दा ठुलो सैनिक अस्पतालमा चिकित्सकको जस्तो लुगा लगाएका आक्रमणकारीहरु जबर्जस्ती प्रवेश गरेपछि ३० जना भन्दा बढी मानिस मारिएको अफगान अधिकारीहरु बताउँछन्।

एकजना आक्रमणकारीले अस्पतालको प्रवेशद्वारमा बम विस्फोट गरेर कर्मचारी र बिरामीलाई गोली हानेपछि बन्दुक र ग्रिनेड लिएका ३ जना अरु लडाकु अस्पतालभित्र छिरेका थिए।

सरदार दाउद अस्पतालको छतमा हेलिकप्टरबाट झरेका कमाण्डोहरुले थुप्रै घण्टाको भिडन्तपछि चारैजना आक्रमणकारीलाई मारेका छन्।

इस्लामिक स्टेट भनिने समूहले आक्रमणको जिम्मा लिएको छ भने तालेवानले आक्रमणमा संलग्न नभएको बताएको छ।

थुप्रै घाइते

पचास जना अरु मानिस घाईते भएको रक्षा मन्त्रालयले बताएको छ।

राष्ट्रपति अशरफ गनीले ४०० शैय्या भएको त्यो अस्पतालमाथिको आक्रमणले "सबै मानवीय मूल्य मान्यतालाई कुल्चेको" बताएका छन्।

स्थानीय समयको बिहान ९ बजे आक्रमण शुरु भएको थियो।

बाहिर निस्किन सफल एकजना कर्मचारीले सेतो कोट लगाएर सबैजनालाई गोली हानिरहेका आक्रमणकारीलाई देखेको बताएका छन्।

कारवाही अन्त्य

आक्रमण शुरु भएको ६ घण्टा भन्दा बढी समयपछि आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता सदीक सदीकीलेले विशेष फौजले आफ्नो कारवाही अन्त्य गरेको र सबै आक्रमणकारीहरु मारिएको भन्दै ट्वीट गरेका थिए।

आइएससंग सम्बन्धित अमाक समाचार संस्थाले दुइवटा तस्वीर देखाएको थियो जसमा एकजना लडाकु आक्रमण गर्दै गरेका देखिन्छन् र थुप्रै शव देखिन्छन्।

बीबीसी अफगानका इनायातुलहक यासिनि भन्छन्, 'यो आक्रमण आइएसले नै गरेको पुष्टि भएका आइएसले तालेवान शैली अपनाएको यो पहिलोपटक हुनेछ।'

पहिले प्रवेशद्वारमा विस्फोट गर्ने अनि अर्कै समूहलाई भवनभित्र पठाउने तालेवानको शैली मानिन्छ।

आइएसको प्रभाव

अफगान सरकारले आइएस पछि हट्दै गरेको बताएतापनि आइएसका लडाकुको धेरै तयारी र श्रोत साधन सहितका आक्रमण गर्ने क्षमता बढिरहेको यो घटनाले देखाएको पनि यासिनि बताउँछन्।

आइएसले सन् २०१५ मा खोरासान प्रान्तको घोषणा गर्दै अफगानिस्तान र पाकिस्तानमा प्रवेश गर्ने बताएको थियो र त्यसयता त्यहाँ थुप्रै आक्रमण गर्दै आएको छ।

सन् २०१६ को जुलाई महिनामा काबुलमा एउटा जुलुसमाथि भएको आत्मघाती आक्रमणमा करीब ८० जना मारिएका थिए।

त्यसको ३ महिनापछि एउटा धार्मिक पर्वको समयमा भएका २ वटा उस्तै आक्रमणमा करीब ३० जना मारिएका थिए।

गत महिना २२ जनाको ज्यान जाने गरी काबुलको सर्वोच्च अदालतमाथि गरिएको आक्रमणको पनि आइएसले जिम्मा लिएको थियो।

तालेवानले पनि आक्रमण बढाउँदै लगेको छ र एक हप्ता अघि काबुलमा आत्मघाती आक्रमणहरुमा १६ जनाको ज्यान लिएको थियो।