ग्वाटेमाला आगलागीमा २० किशोरीको मृत्यु

  • 9 मार्च 2017
ग्वाटेमाला आगलागी पीडित तस्वीर कपीराइट AFP

ग्वाटेमालास्थित एक सरकारी बालबालिका आश्रय केन्द्रमा भएको आगलागीमा परी कम्तीमा २० किशोरीको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

राजधानी ग्वाटेमाला सिटिभन्दा पच्चीस किलोमिटर दक्षिणपूर्वमा रहेको सान खोजे पिन्युला को आश्रय केन्द्रमा भएको आगलागीमा अन्य दुई दर्जन घाइते भएका छन्।

झडप

प्रहरीले आगलागी त्यही केन्द्रमा रहेका कसैला लगाएको हुनसक्ने बताएका छन्। सो केन्द्रमा झडप भएपछि प्रहरीले मंगलबार त्यहाँ हस्तक्षेप गरेको थियो।

करिब ६० बालबालिका त्यहाँबाट भागेका थिए। कतिपयले सो आश्रय केन्द्रमा आफुहरुलाई यौन दुर्व्यवहार गर्ने गरिएको आरोप लगाएका थिए।

अग्नि नियन्त्रकहरु का एक प्रवक्ताले स्थानीय सञ्चार माध्यमहरुलाई बताए अनुसार कम्तीमा २५ व्यक्ति घाइते भएका छन् र तिनलाई अस्पताल पुर्याइएको छ।

मारिएका जति सबै १४ र १७ वर्षको उमेरभित्रका थिए।

केही मिनेटभित्रै आगोको लप्का पूरै फैलिएको थियो।

हालत

ग्वाटेमालाको राष्ट्रिय प्रहरीका प्रमुखले त्यहाँ रहेका केही युवाले आगो लगाइदिएको भनेका छन्। आगलागी भन्दा अघि नै भागेका बालबालिकाले त्यहाँको खराब हालत र दुर्व्यवहारलाई जिम्मेदार भनेका छन्।

स्थानीय विवरणहरुका अनुसार सो आश्रय केन्द्रको क्षमता केवल चार सय बालबालिका को रहेतापनि त्यो भन्दा निकै धेरै संख्यामा राखिएका थिए।

बेसहारा वा दुर्व्यवहार एवं मानव बेचबिखनका पीडित १८ वर्ष मुनिका बालबालिकालाई त्यहाँ आश्रय दिइन्थ्यो।

तर आपराधिक घटनामा सामेल कम उमेरका किशोरहरुलाई समेत न्यायाधीशहरुले त्यहाँ पठाउने गरेको बताइएको छ।

ग्वाटेमालास्थित बालबालिकासम्बन्धी राष्ट्रसंघीय निकाय यूनिसेफले उक्त आगलागीको निन्दा गर्दै त्यहाँका बालबालिका तथा किशोरकिशोरीको संरक्षण गरिनुपर्ने बताएको छ।

यसअघि सन् २००९ मा मेक्सिकोमा रहेको बालबालिका केन्द्रमा भएको आगलागीमा ४९ जनाको ज्यान गएको थियो।