'जाजरकोट बस दुर्घटनामा कम्तीमा २३ को मृत्यु'

  • 9 मार्च 2017

पश्चिम नेपालको जाजरकोट जिल्लामा बिहीबार भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।

सदरमुकाम खलङगाबाट खारा जाँदै गरेको बस पासाघाट खोलामा दुर्घटनाग्रस्त भएको थियो।

पैंतीसजना भन्दा बढी यात्रु घाइते भएको बताइएको छ।

उपचार

घाइतेहरुको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको र गम्भीर घाइतेहरुको उपचारका लागि काठमाण्डू पठाउन हेलिकोप्टर मगाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए।

उनले भने, "रात परेका कारण हेलिकोप्टर रुकुमको चौरजहारी विमानस्थलसम्म मात्र आउन सक्ने बताइकोले घाइतेहरुलाई त्यहाँ पुराउने काम भइरहेको छ।"

मृतकको पहिचान गर्ने काम भैरहेको प्रहरीले जनाएको छ। साँगुरो मोडमा उक्त दुर्घटना भएको बताइएको छ।

हेलिकोप्टर

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार राती करिब ८ बजे घटनास्थलतर्फ हेलिकोप्टर पठाइसकिएको जनाएको छ।

दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन।

२ वर्षअघि जाजरकोटमै यात्रुवाहक बस दुर्घटना हुँदा ५० जनाको ज्यान गएको थियो।