टुस्क युरोपेली परिषदको अध्यक्षमा पुन: निर्वाचित

  • 9 मार्च 2017
तस्वीर कपीराइट Getty Images

पोल्याण्डले विरोध गर्दागर्दै पनि भूतपूर्व पोलिश प्रधानमन्त्री डोनल्ड टुस्क युरोपेली परिषदको अध्यक्षमा फेरि निर्वाचित भएका छन्।

उनको पक्षमा २७ मत र विरोधमा एक मत परेको थियो।

सामाजिक सन्जालमा प्रतिकृया व्यक्त गर्दै टुस्कले आफुलाई जिताउने सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन्।

उनले युरोपेली संघलाई सुधार्न आफुले सक्दो काम गर्ने प्रतिबद्धता पनि जनाए।

यसअघि पोल्याण्डले टुस्कलाई फेरि निर्वाचित हुन नदिन प्रयास गरेको थियो।

विरोध

पोल्याण्डको सत्ताधारी पार्टीले डोनल्ड टुस्कको विरोध गर्ने गर्दछ, जो पहिले विपक्षी पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका थिए।

सम्वाददाताहरु भन्छन्, युरोपेली संघको राजनीतिमा एकै देशका प्रतिनिधिहरुबीच देखिएको मनमुटाव एकदमै असामान्य घटना हो।

जर्मन चान्सलर एंगेला मर्केलले नयाँ तीस महिने कार्यकालका लागि डोनल्ड टुस्कलाई समर्थन गर्ने बताएकी थिइन्, त्यसबाट इयुमा स्थीरताको संकेत देखिने उनको भनाइ थियो।

युरोपेली परिषदको अध्यक्षका रुपमा उनले ब्रिटेन इयुबाट बाहिरिने समयमा हुने वार्ताहरुमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

दिशानिर्देश

युरोपेली परिषदले युरोपेली संघ इयुलाई रणनीतिक दिशानिर्देश गर्ने काम गर्दछ भने युरोपेली आयोगले नयाँ कानुनहरु बनाउने तथा तिनलाई लागू गर्ने काम गर्दछ।

पोल्याण्डको सरकारले सकेसम्मको शक्ति प्रयोग गरेर दोस्रो कार्यकालका लागि डोनल्ड टुस्कको चयनलाई रोक्ने प्रयास गरेको थियो।

उनको सट्टामा पोल्याण्डले आफ्नै अर्का उम्मेदवारको नाम प्रस्तुत गरेको थियो।

शिखर बैठकका लागि ब्रसल्समा उपस्थित हुंदै पोल्याण्डकी प्रधानमन्त्रीले, युरोपेली आयोगले आफूहरुको आवाज सुन्नु पर्ने बताएकी थिइन्।

आफूहरुको सहमति विना कुनै पनि निर्णय हुन नहुनेमा उनको जोड थियो।

भिटो

त्यसअघि पोलिश टेलिभिजनसंगको एउटा अन्तर्वार्तामा पोल्याण्डका विदेशमन्त्रीले डोनल्ड टुस्कको निर्वाचनलाई रोक्न आफ्नो देशले शिखर बैठकका निर्णयहरुमा भिटो समेत प्रयोग गर्न सक्ने बताएका थिए।

तर हाल चक्रीय प्रणाली अन्तरगत इयुको अध्यक्षता गरिरहेका माल्टाका प्रधानमन्त्री जोजफ मस्कटले डोनल्ड टुस्कको चयनमा अवरोध हुन नसक्ने बताए।

इयुले पोल्याण्डको सर्वोच्च न्यायालयमा सरकारले गरेको परिवर्तन, पत्रकारहरुमाथि लगाइएका नयां सीमा र कोटा अनुसार शरणार्थीहरुको पुनर्वास गराउनमा गरेको विरोध जस्ता कदमहरुको आलोचना गरेर त्यहाँको राष्ट्रवादी सरकारलाई आक्रोशित तुल्याएको छ।