‘संविधान संशोधन कार्यसूचीमा परेन’

  • 10 मार्च 2017
संसद

संघीय गठबन्धनले संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गर्न सरकारलाई सात दिने म्याद दिए पनि दुई सातापछि शुक्रबार बस्न लागेको संसद बैठकमा त्यस विषयलाई कार्यसूचीमा राखिएको छैन।

प्रमुख दलबिच अझै सहमति नभएकाले गठबन्धनले समयसीमा दिएको तेश्रो दिन बस्न लागेको बैठकमा विधेयकका प्रकृया अघि बढाउन नसकिएको सभामुखले बताएकी छन्।

एजेन्डा

संसद सचिवालयका अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोग र न्यायाधीशको सेवा-सुविधा सम्बन्धी विधेयक तथा उद्योग वाणिज्य समिति र महाअभियोग सिफारिस समितिका प्रतिवेदन कार्यसूचीमा राखिएको छ।

संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, "कार्यतालिका सामान्य छ। जहाँसम्म संविधान संशोधन विधेयकको विषय छ त्यो शुक्रबारको एजेन्डामा छैन। त्यो विषय छलफल गरेरै राख्नुपर्ने हुनाले सभामुखले प्रमुख सचेतकहरुसंग छलफल गर्नुहुनेछ।"

चेतावनी

संघीय गठबन्धनले प्रधानमन्त्रीलाई सात दिने समयसीमा दिएर संविधान संशोधन परिमार्जन सहित पारित नभए सरकारलाई दिएको समर्थन स्वत: फिर्ता हुने बताएको छ।

त्यसैले संशोधनलाई प्राथमिकतामा राखिने अनुमान गरिएको थियो।

तर सभामुख ओनसरी घर्ती विधेयक संसदमा अघि बढाउन प्रमुख दलबिच सहमतिको पर्खाइमा देखिन्छिन्।

उनले भनिन्, "म के पर्खेर बसेकी छु भने उहाँहरु (राजनीतिक दल)को बिचमा वार्ता सम्वाद भएमा सहमती अवश्य पनि हुन्छ। एक दुई दिनका लागि हतार नगरिकन यसलाई सकेसम्म सहमतिमै अगाडि बढाइयोस् भन्ने म चाहन्छु।"

संशोधन विधेयक विफल तुल्याउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको अडान र संघीय गठबन्धनको चेतावनीका माझ तत्कालै यसको छिनोफानो हुने सम्भावना देखिन्न।