युरोपेली संघमा नयाँ मतभेद

  • 10 मार्च 2017
tusk तस्वीर कपीराइट Reuters

युरोपेली परिषद्को अध्यक्षमा पोल्याण्डका डोनल्ड टुस्क पुनर्निर्वाचित भएसँगै युरोपेली संघमा ताजा विभाजनहरु देखिएका छन्।

टुस्ककै मुलुक पोल्याण्डले उनलाई निर्वाचित हुनबाट रोक्न मतदानमा ढिलाइका लागि भनेको थियो तर अन्य सदस्य मुलुकले उक्त आग्रह अस्वीकार गरिदिएका थिए।

टुस्कको पक्षमा २७ मत खसेको थियो भने विपक्षमा केवल एक मतमात्रै परेको थियो।

अब उनले अर्को साढे दुई वर्ष युरोपेली परिषद्को नेतृत्व सम्हाल्नेछन्।

प्रतिस्पर्धा

आफूलाई जिताउने मुलुकहरुलाई धन्यवाद दिदैं टुस्कले भने, "तपाईंहरु सबैसँग कुनै भेदभावविना काम गर्नेछु किनकी म साँच्चिकै एकीकृत युरोपप्रति कटिवद्ध छु। र, तपाईंहरुलाई निराश नबनाउने वाचा मैले आफैसँग गरेको छु। हामीले अब छिट्टै काम थालिहाल्नुपर्छ"।

पोलिस सरकारले टुस्कले आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आफ्नो कार्यादेश उल्लंघन गरेको आरोप लगाएको छ।

पूर्व प्रधानमन्त्री समेत रहेका टुस्क र वर्तमान पोलिस प्रधानमन्त्री प्रतिस्पर्धी दलका हुन्।

मूलत: पोल्याण्डभित्रकै राजनीतिक दुश्मनीका कारण पछिल्लो तिक्तता देखिएको ठानिएको छ।

विशेषाधिकार

पोलिस प्रधानमन्त्री बेएटा सिडोले टुस्कलाई पुनर्निर्वाचित गर्ने निर्णय आफ्नो मुलुकले स्वीकार नगर्ने बताइन्।

पोल्याण्डलाई त्यस्ता निर्णयमाथि भिटो अर्थात् विशेषाधिकारको हक रहेको भन्दै उक्त अधिकार आफूहरुले प्रयोग गरिरहेको उनले बताइन्।

तस्वीर कपीराइट Reuters

आफ्नै मुलुकको समर्थन नहुनु नै टुस्कलाई नियुक्त गर्न नहुने दरो कारण रहेको उनको टिप्पणी थियो।

टुस्कले भने आफ्नै मुलुकको सरकारप्रति लक्षित गर्दै भनेका छन्, "आफैले जलाउने पुलहरुबारे तिमी सावधान होउ किनभने एकपटक ती जले भने फेरि कहिले पार गर्न सकिनेछैन"।

युरोपेली आयोगका अध्यक्ष जाँ क्लउड योङ्करले समेत मतदानको परिणामप्रति समर्थन जनाउँदै सबै नियमहरु पालना गरिएको बताए।

जर्मन चान्सलर एंगेला मर्केलले पनि मतपरिणामको बचाउ गरेकी छन्।