हरिप्रसाद रिमालसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हरिप्रसाद रिमालसंगको कुराकानी

  • 14 मार्च 2017

आफ्नै संगीतमा शंकर लामिछानेको गीत 'मेरो मन टुक्रा भएर आँखाबाट बहने छ' गाएका हरिप्रसाद रिमाल त्यो दिन राम्ररी सम्झन्छन्।

रेडियो नेपालबाट सबभन्दा पहिले गुञ्जेको गीत उनकै आवाजमा थियो।

"मादल पनि थिएन, हार्मोनियम पनि थिएन, केही थिएन," उनी बताउँछन्।

"सबै मैले नै खोजेर ल्याएँ र मैले प्रत्यक्ष त्यो गीत गाएँ।"

तर रेडियो नेपालको पहिलो गायक बन्दाको अनुभव सुनाउने अनुरोध गर्दा उनले भने, "घमण्ड त छैन मलाई।"

बहुप्रतिभाशाली

गीतसंगीत पछि नाटकमा अझ प्रभावशाली छवि बनाएका ९२ वर्षीय रिमाल आफ्ना उपलब्धिहरुप्रति यस्तै विनम्र भाव व्यक्त गर्दछन्।

विसं १९८२ मा जन्मेका रिमालको कला यात्राले विभिन्न युगहरुलाई अंगालेको छ।

जब उनले नाटकमा काम गर्न शुरु गरेका थिए, त्यतिबेला नेपालमा राणा शासन कायमै थियो।

त्यसबेलाका केही घटनाको सम्झना उनको मनमा अझै ताजै रहेछ।

स्मरणीय क्षण

"मैले १३-१४ वर्षको उमेरमा राणाशासन प्रति नै व्यंग्य गरेर मञ्चबाट गीत गाएको थिएँ," उनी सम्झन्छन्।

"तर त्यो गीत उनीहरुले नबुझेर मलाई इनाम दिएर पठाए।"

भजन जस्तै सुनिने त्यो गीतमा उनले भनेः हानी छ के परमेश्वरलाई, कोही उनको शत्रु भनोस् नभनोस्, भेटी हजार छरोस् नछरोस्।

तर उनको व्यंग्य बुझ्नुको सट्टा उनलाई त ४०० रुपैयाँ पो दिइयो!

"चाँदीको सिक्का सबै गरेर पाँच-साढे पाँच किलो थियो होला, बल्ल बल्ल बोकेर घर ल्याएँ," उनी आफ्नो स्मरणीय क्षण रमाइलो मान्दै सुनाउँछन्।

नाटकको उचा

नाटक र गीतसंगीत हुँदै उनी रेडियो नेपालका एक संस्थापक सदस्य र प्रथम गायक बन्न पुगेका थिए।

बालकृष्ण समलाई आफ्ना गुरु मान्ने रिमाल त्यसपछि राष्ट्रिय नाचघरमा थुप्रै वर्ष सकृय थिए।

त्यो त्यस्तो समय थियो जब उनले निर्देशन र अभिनय गरेका नाटक हेर्ने दर्शकको पंक्ति लामो भएपछि एउटै नाटक महिनौं प्रदर्शन हुन्थ्यो।

"मैले फिल्म जसरी नाटक चलाएँ," रिमाल गर्वका साथ अहिले भन्छन्।

र त्यसै समयमा उनका चेला बन्न पुगेका थिए -- हालका वरिष्ठ रंगकर्मीहरु प्रचण्ड मल्ल देखि लिएर हरिहर शर्मा, शकुन्तला शर्मा, चन्द र अन्य कैयौं अभिनेता।

चलचित्रमा भूमिका

आफूले अभिनय गरेका नाटकहरुमध्ये मुकुन्द इन्दिरा उनको प्रिय हो, तर त्यसपछि उनले भर्खरै शिशु पाइला चाल्न थालेको नेपाली चलचित्रमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए।

अत्यधिक सफल चलचित्र मनको बाँधमा उनको चरित्र अभिनय महत्वपूर्ण मानिएको थियो।

"मलाई त्यतिबेला भारतीय अभिनेता बलराज साहनीसंग दाँजिन्थ्यो," उनले भने, "नायक नभएपनि कथालाई हाँक्ने मुख्य पात्र।"

त्यसपछि एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरेका रिमालले अभिनय गर्न छोडेको एक दशक भन्दा बढी भइसकेछ।

अस्वस्थ वर्तमान

विभिन्न रोगले पीडित उनी जतिखेर पनि अक्सिजनको पाइपको सहारामा छन्।

अक्सिजन छोड्न नमिल्ने हुनाले कतै जान नसक्ने उनी बताउँछन् र ८० वर्ष काटिसकेकी भूतपूर्व रेडियोकर्मी पत्नी कल्याणी रिमालसंगै उनी काठमाडौं, बानेश्वरमा बस्दै आएका छन्।

धेरै क्षेत्रमा काम र योगदानको प्रशंसा सबैले गरेतापनि रेडियो नेपाल र नाचघर लगायत कतैबाट पनि सरकारको पेन्सन समेत नपाएकोमा उनी दुःखी छन्।

र आर्थिक अवस्था गाह्रो भएको अनुभव सुनाउँछन्।

नाटकको सम्झना

यो समयमा उनलाई केही सन्तुष्टि भने नाटकको सम्झनाले दिंदो रहेछ।

"मैले जे जति गरें व्यापार गर्नलाई होइन, देशको लागि हो।

र जति नाटकले मलाई पछ्यायो नि, त्यति गीतले पनि पछ्याएन, चलचित्रले पनि पछ्याएन," उनी भन्छन्।

"र अहिले तिनै कुराहरुरु सम्झेर खुशी लाग्छ, मैले सिकाउन पाएँ, अरुले सिक्न पाए।

जीवनको उपलब्धि त्यही हो जस्तो लाग्छ।"