टर्कीमाथि मानव अधिकार उल्लंघनको आरोप

  • 10 मार्च 2017
जीज्रामा विध्वंस तस्वीर कपीराइट AP

टर्कीमा १८ महिना भिडन्त हुँदा करीब २ हजार मानिस मारिएको भन्दै संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताले टर्कीको सेनामाथि मानव अधिकार सम्बन्धी गम्भीर अपराध गरेको आरोप लगाएका छ्न्।

सन् २०१५ मा टर्की र कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) बीचको युद्धविराम भंग भएपछि ती हत्या र यातना लगायतका घटना भएको राष्ट्रसंघको प्रतिवेदनमा बताइएको छ।

सन् २०१५ को जुलाई महिना देखि सन् २०१६ को डिसेम्बर महिना सम्ममा भएका भिडन्तमा हजारौंको हत्या र गिरफ्तारी मात्रै होईन साढे तीन देखि पाँच लाख मानिस विस्थापित समेत भएको संयुक्त राष्ट्रसंघको भनाई छ।

भूउपग्रहका तस्वीरमा पनि ठुलो अनुपातमा भारी हातहतियारले घरहरुमाथि आक्रमण गरेको देखिएको राष्ट्रसंघको प्रतिवेदनमा बताइएको छ।

सरकारको असहयोग

तर त्यस्ता गम्भीर आरोप लगाइंदा पनि टर्कीको सरकारले कुनै विश्वसनीय अनुसन्धान नगरेको र सरकारले त्यो प्रतिवेदनको सत्यतामाथि नै प्रश्न उठाएको संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त जेइद राद अल-हुसैनले बताएका छन्।

प्रतिवेदनको निष्कर्शका बारेमा टर्कीका राष्ट्रपति रेजेप तय्यप एर्दोआनको प्रशासनले स्वतन्त्र रुपमा कुनै टिप्पणी गरेको छैन।

पीकेके विरुद्ध कारवाही गरिएका क्षेत्रमा टर्कीको सरकारले अनुसन्धानकर्ताहरुलाई पहुँच नदिएकाले राष्ट्रसंघको मानव अधिकार कार्यालयले गोप्य र सार्वजनिक बयानहरुका साथै भूउपग्रहका तस्वीर र अन्य श्रोतमा आधारित भएर प्रतिवेदन तयार पारेको हो।

परस्पर विरोधी

३० भन्दा बढी नगरलाई प्रभावित गर्ने सरकारी कारवाही भएको समयका घटनालाई प्रतिवेदनले अभिलेख गरेको छ।

प्रतिवेदनका अनुसार थुप्रै दिन कर्फ्यु लागू गरिएको बेलामा सबैभन्दा गम्भीर घटना भएका थिए।

टर्कीको सरकारले भने पीकेकेको आक्रमणले टर्कीका सेना र सर्वसाधारणको मृत्यु भएका घटनाका बारेमा अनुसन्धानकर्तालाई जानकारी उपलब्ध गराएको थियो।

टर्कीको सरकारले पीकेके लाई आतंकवादी संगठन मान्दछ।

पीकेकेविरुद्ध आरोप

सरकारले पीकेकेले बालबालिका लगायतका मानिसको अपहरणमा गरेको, उसले नगरहरुमा धराप राखेको र स्वास्थ्यकर्मीलाई आपतकालीन सेवा दिनबाट रोकेको पनि बताएको छ।

टर्कीले दशकौंदेखि देशको दक्षिणपुर्वी भागमा कुर्द विद्रोहको सामना गरिरहेको छ।

सन् १९८४ मा टर्कीभित्र स्वतन्त्र कुर्द राज्यको माग गर्दै पीकेकेले सशस्त्र द्वन्द्व शुरु गरेको थियो।

त्यसयता टर्कीमा दसौं हजारको ज्यान गइसकेको छ।