सरकारद्वारा गोविन्द गौतम शहीद घोषित

  • 10 मार्च 2017
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कञ्चनपुर घटनाबारे गृहमन्त्री विमलेन्द्र निधि

कञ्चनपुरको सीमावर्ती क्षेत्रम बिहीबार भारतीय पक्षसंगको विवादपछि उत्पन्न हिंसात्मक घटनामा ज्यान गुमाएका गोविन्द गौतमलाई सरकारले शहीद घोषणा गरेको छ।

उक्त घटनाका सम्बन्धमा संसदलाई जानकारी गराउंदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भने, "(भारतीय) एसएसबीका रक्षकबाट गोली लागेर निधन भएका गोविन्द गौतमलाई नेपाल सरकारले शहीद घोषाण गरिसकेको पनि म यस सम्माननीय संसद मार्फत जानकारी गराउन चाहन्छु।"

मन्त्री निधिले मृतक गौतमको परिवारलाई १० लाख रुपैंया राहत उपलब्ध गराइने पनि बताए।

मृतकका सन्तानलाई सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गर्ने भएको छ।

सम्मान

उनको दाहसंस्कार पनि सम्मानपूर्वक गरिने मन्त्री निधिले बताए।

तस्वीर कपीराइट मन्त्री निधिको फेसबुक

उनका अनुसार कञ्चनपुर घटनाबारे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंग परराष्ट्रमन्त्री प्रकाशशरण महतको कुराकानी भएको छ।

उनले भने, "गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएको सम्बन्धमा यथाशीघ्र छानविन गरेर दोषीलाई कार्वाही गर्न तथा परिस्थिती सामान्य गर्न र अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन आवश्यक सहयोग गर्न भारत सरकारलाई अनुरोध गर्नु भएको छ।"

भारतीय विदेशमन्त्रीसंग आफ्नो पनि टेलिफोन वार्ता भएको बताउंदै मन्त्री निधिले, गोली लागी नेपाली नागरिकको मृत्यु भएको सो घटना दुर्भाग्यपूर्ण भएको र त्यसबारे भारत सरकारले छानविन शुरु गरेको जानकारी भारतीय विदेशमन्त्रीबाट प्राप्त भएको जनाए।

'दु:ख'

उनका अनुसार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलले पनि प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर घटनामा नेपाली युवक गोविन्द गौतमको मृत्यु भएकोमा दु:ख व्यक्त गरेका छन्।

घटनाका सम्बन्धमा भारतको सशस्त्र सीमा बलले छानविन शुरु गरेको जानकारी समेत डोभलले प्रधानमन्त्रीलाई गराएको मन्त्री निधीले बताए।

नेपालका परराष्ट्र सचिवले शुक्रबार नै भारतीय राजदूतावासका कार्यवाहक राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर कञ्चनपुर घटनाबारे चिन्ता व्यक्त गरेको जनाउँदै मन्त्री निधिले भने, "नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति निन्दा समेत गर्दै औपचारिक कुटनीतिक नोट हस्तान्तरण गरिसकिएको छ।"

घटनाको शीघ्र छानविन गरिनेमा परराष्ट्र मन्त्रालयलाई भारतीय पक्षबाट आश्वासन प्राप्त भएको पनि बताइएको छ।