भारत: पाँच राज्यको मत परिणाम आज

  • 11 मार्च 2017
नरेन्द्र मोदी तस्वीर कपीराइट AFP

भारतमा पाँचवटा राज्यमा भएका चुनावहरुको परिणाम शनिबार घोषणा हुँदैछ।

यो चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षणका रुपमा हेरिएको छ।

खासगरी धेरैको ध्यान सबैभन्दा धेरै जनसंख्या भएको र राजनीतिक रुपमा महत्वपूर्ण राज्य उत्तर प्रदेशमा छ जुन राज्यको नेपालसँग पनि सिमाना जोडिएको छ।

उत्तर प्रदेशसँगै पञ्जाब, उत्तराखण्ड, मणिपुर र गोवामा भएका राज्य चुनावको मतगणना शनिबार हुनेछ।

जनमत

यी राज्यमा भएका चुनावलाई प्रधानमन्त्री मोदीको कामलाई भारतीयले मन पराएका छन् वा छैनन् भन्ने जनमत संग्रहका रुपमा धेरैले हेरेका छन्।

तस्वीर कपीराइट AFP

खासगरी धेरैको ध्यान उत्तर प्रदेशमा देखिन्छ।

उत्तर प्रदेश सबैभन्दा धेरै जनसंख्या भएको राज्य हो र यसले भारतीय राजनीतिमा महत्वपूर्ण अर्थ राख्छ।

उक्त राज्यका शक्तिशाली क्षेत्रीय पार्टीहरु सत्तारुढ समाजवादी पार्टी र बहुजन समाज पार्टीविरुद्ध प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले कडा चुनावी अभियान चलाएको थियो।

मतदान गरेर फर्किएका मानिसहरुमाझ गरिएको सर्वेक्षण अर्थात एक्जिट पोलहरुले भारतीय जनता पार्टीले जित्ने अनुमान गरेका छन्।

तर त्यस्ता कतिपय अनुमानहरु यसअघि गलत सावित भएका थिए।

प्रतिवद्धता

पार्टीको चुनावी रणनीतिमा मोदीले केन्द्रीय भूमिका निर्वाह गरेका छन् र उनले आर्थिक वृद्धि तथा आधुनिकीकरणमा जोड दिनुका साथै भ्रष्टाचार हटाउने वाचा गरेर चुनावी प्रचारप्रसार गरेका थिए।

जात, परिवार र धर्म जस्ता पक्षले गहिरो रुपमा जकडिएको उत्तर प्रदेश राज्यका लागि यी यस्ता वाचा बलियो प्रतिवद्धता हुन्।

तर हिन्दु समर्थक भनी आरोप लाग्ने उनको राजनीति र राष्ट्रवादको नीति सबैले रुचाउँदैनन्।

साथै केही नोट प्रतिबन्ध गर्ने उनको कदमले मानिसहरुका लागि धेरै नै समस्या निम्त्याएको थियो।