‘सुरक्षा विशेषतासहितको’ मतदाता परिचयपत्र

  • 12 मार्च 2017
आयोग

स्थानीय तह चुनावको तयारी गरिरहेको निर्वाचन आयोगले पहिलोपटक मतदाताहरुलाई सुरक्षा विशेषतासहितको मतदाता परिचयपत्र उपलब्ध गराउने बताएको छ।

नयाँ मतदाता परिचयपत्र छाप्न दिने अन्तिम तयारीमा पुगेको आयोगका सचिव गोपीनाथ मैनालीले बीबीसीलाई बताए।

'क्यूआर कोड' र मतदाताको फोटोसहितको मतदाता परिचयपत्रबाट सक्कली मतदाता पहिचान गर्नमा पनि सघाउन पुग्ने आयोगको विश्वास छ।

एकजना पूर्व प्रमुख निर्वाचन आयुक्तले छोटो समयमा त्यस्तो परिचयपत्र बनाउन चुनौतीपूर्ण भएपनि नेपालको चुनावी अभ्यासमा एउटा महत्वपूर्ण कदम हुने प्रतिक्रिया दिएका छन्।

विशेषता

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीका अनुसार संविधानसभाको दोस्रो निर्वाचनकै बेला आयोगले सुरक्षा विशेषतासहितको मतदाता परिचयपत्र उपलब्ध गराउन चाहेपनि समय अभावका कारण त्यसलाई मूर्त रुप दिन सकिएन।

यसपटक भने समयमै मतदाता परिचयपत्र मतदाताको हातमा पुर्याउने लक्ष्यका साथ प्रारम्भिक चरणका काम पनि सकिसकेको आयोगका सचिव मैनालीले बताए।

त्यसबारे भइरहेका थप काम र मतदातालाई दिइने परिचयपत्रको विशेषताबारे उनले भने भने, "कम्पनीहरुलाई काम दिएर आयोगकै परिसरमा मतदाता परिचयपत्र छाप्नका लागि आदेश दिने अन्तिम तयारीमा हामी छौँ। त्यसमा होलोग्राम हुन्छ, माइक्रो टेक्स्टहरु हुन्छन् जुन आँखाले पढ्न सकिंदैन। क्युआर कोड हुन्छ, त्यसमा चारवटा अक्षर राख्छौँ। फाराम नम्बर, वा व्यक्तिको नाम, ठेगाना, नागरिकताको प्रमाणपत्र नम्बर लगायतका कुरा हुन्छन् त्यसमा र पृष्ठभूमिमा केही प्रिन्ट हुन्छ।"

आयोगका अनुसार वैशाख ३१ गतेको चुनावका लागि झण्डै १ करोड ४१ लाख मतदाता मतदान गर्न योग्य देखिएका छन्, जसको अर्थ आयोगले सोही संख्यामा मतदाता परिचयपत्र बनाउनुपर्ने हुन्छ।

सचिव मैनालीका अनुसार सुरक्षा विशेषतासहितको एउटा मतदाता परिचयपत्र बनाउन करबाहेक करिब १० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ र त्यस विषयमा कम्पनीहरुसँग आयोगको परामर्श जारी छ।

दीर्घकालीन

मतदान अधिकृतलाई चुनावअघिनै मतदान केन्द्रमा पठाउँदा उनीहरुसँगै मतदाता परिचयपत्र पठाएर वितरण गर्ने आयोगको योजना छ।

सो योजनालाई प्रभावकारी देखेपनि पूर्व प्रमुख आयुक्त उप्रेतीले यस्तो चुनौती औंल्याए।

उनले भने, "मलाई चाहिँ डर लागेको कुरा के हो भने समयावधि अत्यन्त कम छ। छाप्न नै चुनौतीपूर्ण छ। यति छोटो समयमा सुरक्षित मतदाता परिचयपत्र जुन दीर्घकालीन रुपमा प्रयोगमा ल्याउन सकिन्छ त्यस्तो खालको बनाएर वितरण गर्नका लागि चाहिने समय र वितरण जुन व्यवस्था हो त्यसमा हामी कतै चुक्छौँ कि? "

मतदाता परिचयपत्र लिनका निम्ति चुनावको केही दिनअघिनै मतदाताहरु मतदान केन्द्र जानुपर्ने भएकोले झन्झटिलो हुन सक्छ।

तर अधिकारीहरुको आग्रह छ- निष्पक्ष र धांधलीरहित चुनावका लागि मतदाताले दुःख नमानी सहयोग गरुन्।