नेदरल्याण्डसमाथि प्रतिबन्ध लगाउन एर्दोआनको आह्वान

  • 13 मार्च 2017
तस्वीर कपीराइट EPA

टर्कीका राष्ट्रपति रेजेप ताइप एर्दोआनले नेदरल्याण्डस सरकारविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।

आफ्ना दुईजना मन्त्रीहरुलाई नेदरल्याण्डसमा चुनावी प्रचारप्रसारका लागि भाषण गर्न रोक लगाएपछि एर्दोआनले यस्तो आह्वान गरेका हुन्।

डेनमार्कले टर्कीका प्रधानमन्त्रीलाई उनको भ्रमण केही पछि धकेल्न भनेपछि र जर्मनीले पनि टर्कीलाई दिने सहायताबारे छलफल गर्न कठिन रहेको चेतावनी दिएपछि विवाद चुलिएको हो।

अस्वीकार्य

टर्कीले युरोपेली देशहरुमा जनमतसंग्रहलाई लक्षित गरेर र्याली आयोजना गर्न गरिरहेको विवादास्पद प्रयासमाझ कैयौं युरोपेली नेताहरुले टर्कीको आलोचना गरेका हुन्।

डच प्रधानमन्त्री मार्क रुट्अले टर्कीका राष्ट्रपति रेजेप ताइप एर्दोआनको उक्त टिप्पणी अस्वीकार्य भएको बताएका छन्।

उनले टर्कीको भड्काउपूर्ण टिप्पणीका लागि कुनै जायज बहाना नभएको बताए।

जर्मनी र नेदरल्याण्डसका अधिकारीहरुले र्यालीहरु गर्न रोक लगाएपछि टर्कीका राष्ट्रपति रेजिप तय्यिप एर्दोआनले त्यसलाई 'नाजि' शैली भन्दै आरोप लगाएका छन्।

त्यस्तै जर्मनीका विदेशमन्त्रीले टर्की 'आफ्नो होशमा फर्किएला' भन्ने आशा गरेको बताएका छन्।

तस्वीर कपीराइट AFP

'चिन्ता'

डेनमार्कका प्रधानमन्त्री लार्स लुग रेसमुसनले पनि एर्दोआनसँग यसअघि तय गरिएको आफ्नो बैठक पछि धकेलेका छन्।

उनले टर्कीमा प्रजातान्त्रिक सिद्धान्तहरु चर्को दबाबमा रहेको बारे आफू चिन्तित रहेको बताएका छन्।

उनले नेदरल्याण्डसमाथि अहिले टर्कीले गरिरहेको व्यवहारलाई छुट्टै राखेर हेर्न नसकिने भन्दै त्यही कारणले आफूले एर्दोआनसँग तय गरिएको बैठक पछि धकेलेको बताएका छन्।

एर्दोआनको शक्ति बढाउने गरी हुन लागेको जनमत संग्रहमा युरोपमा बस्ने टर्कीका नागरिकहरुको ठूलो जमातलाई लक्षित गरेर ती र्यालीहरु आयोजना गर्न लागिएको थियो।

यद्यपि जर्मनी, अस्ट्रिया र नेदरल्याण्ड्समा अधिकारीहरुले सुरक्षाको चासो देखाउँदै र्यालीहरु गर्न बन्देज लगाएका थिए।