स्टर्जनद्वारा जनमतसंग्रहको माग

  • 13 मार्च 2017
स्टर्जन र मे तस्वीर कपीराइट AFP

स्कटलण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले स्कटलण्डको स्वतन्त्रताका बारेमा दोस्रो पटक जनमतसंग्रह गर्नका लागि अनुमति माग्ने पुष्टि गरेकी छिन्।

सन् २०१८ को शरद र सन् २०१९ को वसन्त ऋतुका बीचमा त्यस्तो मतदान आयोजना गर्न खोजेको स्टर्जनले बताइन्।

ब्रिटेनले युरोपेली संघ छोड्ने निर्णय गरेको सन्दर्भमा स्कटलण्डको हितको सुरक्षा गर्नका लागि त्यस्तो कदम आवश्यक भएको स्टर्जनले बताइन्।

उनले आगामी हप्ता स्कटलण्डको संसदलाई त्यस्तो कदमका लागि वेष्टमिन्स्टरसंग अनुमति माग्न अनुरोध गर्ने बताइन्।

कानुनी रुपमा बाध्यकारी हुने नयाँ जनतमतसंग्रह गर्नका लागि त्यस्तो अनुमति आवश्यक हुन्छ।

मे मौन

ब्रिटिश प्रधानमन्त्री टरीजा मेले त्यस्तो अनुमति दिने कि नदिने भन्ने बारेमा हालसम्म केही भनेकी छैनन्।

मेका प्रवक्ताले स्कटलण्डका धेरैजसो जनताले त्यस्तो जनमतसंग्रह नचाहेको प्रमाणहरुले देखाएको भनेर स्टर्जनको घोषणाको प्रतिकृया दिएका छन्।

त्यस्तो जनमतसंग्रह विभाजनकारी हुने र त्यस्ले ठुलो आर्थिक अनिश्चितता निम्त्याउने उनको भनाई छ।

तर एडिनबरा स्थित आफ्नो औपचारिक निवासबाट बोल्दै स्टर्जनले स्कटलण्डका जनतालाई कठिन ब्रिटिश बहिर्गमन र स्वतन्त्रताका बीचमा चुन्न दिनु आवश्यक भएको बताइन्।

विश्लेषण

स्कटलण्डको राजनीति सम्बन्धी बीबीसी संवाददाता फिलिप सिमका अनुसार ब्रिटनेको सरकारसंग त्यस्तो अनुमति नदिने अधिकार छ।

तर सीधै अस्वीकार गर्नु उसको लागि राजनीतिक रुपमा निकै कठिन हुन्छ।

जनमतसंग्रह हुन्छ कि हुँदैन भन्ने विषयमा भन्दा पनि जनमतसंग्रह कहिले हुन्छ भन्ने विषयमा धेरै विवाद हुन सक्छ उनले बताएका छन्।

जनमतसंग्रह कहिले?

ब्रिटेन इयुबाट बाहिरिनु भन्दा अघि नै जनमतसंग्रह गराउनुपर्नेमा स्टर्जन स्पष्ट छिन्।

ब्रिटेनको सरकारले भने ब्रिटेनले इयु छोडिसकेपछि जनमतसंग्रह गर्नुपर्नेमा जोड दिन सक्छ।

स्टर्जनले भने समयतालिका लगायतका विवरणहरु स्कटलण्डको संसदले तय गर्नुपर्ने बताएकी छिन्।

सोमबार इयुबाट ब्रिटेनको बहिर्गमन सम्बन्धी विधेयकको अन्तिम चरण पुरा हुने अनुमान गरिएको छ।

त्यसो भएमा मेले मंगलबार औपचारिक रुपमा बहिर्गमनको प्रकृया शुरु गर्न सक्नेछिन्।