प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेट

  • 13 मार्च 2017

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना माग सम्बोधन गर्न सरकारलाई दिएको सयमसीमा सकिन एक दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सोमवार संविधान संशोधन र स्थानीय निर्वाचनका विषयमा छलफल भएको छ।

दुई नेताबीचको छलफलमा प्रधानमन्त्रीले लचिलो हुन आग्रह गरेको तर एमाले अध्यक्ष ओलीले पार्टीको पुरानै अडान दोहोराएको प्रधानमन्त्रीका एकजना सल्लाहकारले बताए।

मोर्चाका नेताहरुले भने समय घर्किदै जाँदा समेत आफ्ना माग सम्बोधन गर्ने तर्फ सरकारले खासै चासो दिएको नदेखिएको आरोप लगाएका छन्।

सहमति

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ज्ञापनपत्र बुझ्ने बेलामै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारमा रहेका र सरकार बाहिर रहेका दलहरुसँग छलफल गरेर सहमति खोज्ने बताएका थिए।

त्यसयता संसदको चौथो ठूलो दल राप्रपाका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी बनाएका उनले सोमबार प्रमुख विपक्षी एमालेका अध्यक्ष ओलीसँग छलफल गरेका छन्।

मेची महाकाली अभियान अन्तर्गत प्रदेश नम्बर ५ का कार्यक्रमहरु जारी रहँदा नै कुराकानीका लागि राजधानी आएका एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच भएको छलफल संविधान संशोधन र निर्वाचन केन्द्रित भएको बताइएको छ।

भेटमा प्रधानमन्त्रीले संविधान संशोधनकालागि लचिलो बन्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

उनले भने, "संविधान संशोधनमा सहयोग गरेर अगाडि बढ्नुहोस्। यसलाई पारित गरेपछि निर्वाचनमा जानपनि सहज हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो, तर अध्यक्ष ओलीले भने आफ्नो पार्टीको पुरानै अडान दोहोराउनु भयो।"

मोर्चाले दिएको ज्ञापनपत्रमा स्थानीय निर्वाचन रोकेर पहिले संविधान संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ।

उक्त माग बमोजिम गर्न नसकिने भएकाले निर्वाचनको काम अघि बढ्दै गर्दा संशोधन विधेयकलाई पारित गराउने योजना सरकारको रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले बताए।

उनले भने, "सरकार भन्दा बाहिर रहेका दलमध्ये विजय गच्छदारलाईपनि सरकारमा ल्याउने प्रयास भइरहेको छ, कमल थापा सरकारमा आइसक्नुभएको छ, अब प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याएर मोर्चाका मुद्दाहरु सम्बोधन गर्ने प्रयासमा प्रधानमन्त्री हुनुहुन्छ।"

आरोप

तर तोकिएको सात दिनको समय सकिनै लाग्दापनि प्रधानमन्त्रीले ठोस पहल नगरेको आरोप मोर्चाका नेताहरुले लगाएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, "त्यस विषयमा प्रधानमन्त्रीको कुनै संवेदनशीलता नै देखिंदैन, सम्वादहीनताको स्थिति छ कसरी सन्तुष्ट हुने ?"

संविधान संशोधनको पहलमा विगत देखिनै क्रियाशील देखिएका गृहमन्त्रालय संहालेका उपप्रधान मन्त्री बिमलेन्द्र निधि भने सोमवार एउटा कार्यक्रममा सहभागी हुन भन्दै भारत गएका छन्।

भारत जानु अघि उनले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेरै छलफल गरेको बताइएको छ।

तमलोपाको पार्टी कार्यालयमै दुई नेताबीच भएको उक्त छलफल मोर्चालाई मनाउनमै केन्द्रित भएको सो पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बताए।