इयुबाट बाहिरिनेबारेको विधेयक माथिल्लो सदनद्वारा पारित

  • 14 मार्च 2017
तस्वीर कपीराइट PA

ब्रिटेनको माथिल्लो सदन 'हाउस अफ लर्ड्स'ले त्यहाँको सरकारलाई युरोपेली संघ 'इयु' छाड्न आवश्यक आर्टिकल फिफ्टी भनिने कानूनी प्रक्रिया थाल्न अनुमति दिने ब्रेक्जिट बील पारित गरेको छ।

उक्त विधेयकले अब महारानीको लालमोहर प्राप्त गरेपछि मंगलबारदेखि कानूनको स्वरुप ग्रहण गर्नेछ।

ब्रिटिश सरकारले इयुका नागरिकहरुको आवासिय अधिकार सुनिश्चित गर्नुपर्ने र अन्तिम सम्झौतामाथि सांसदहरुलाई अर्थपूर्ण मतदान गर्न दिनुपर्ने भनी संसदको माथिल्लो सदन हाउस अफ लर्डसले यसअघि दिएको निर्णयबाट ऊ पछि हटेको छ।

योजना

सरकारले युरोपेली संघ छाड्ने औपचारिक प्रक्रिया यसै महिनाको अन्त्यबाट शुरु गर्ने योजना गरेको छ।

तर स्कटल्याण्ड सरकारले संयुक्त अधिराज्यबाट स्वतन्त्र हुने/नहुनेबारे दोस्रो जनमतसंग्रह गर्ने योजनाको घोषणा गरेकाले यो प्रक्रिया जटिल बनेको छ।

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले सैद्धान्तिक रुपमा युरोपेली संघबाट ब्रिटेन बाहिरिने 'ब्रेक्जिट'को प्रक्रिया सम्बन्धी धारा ५० को व्यवस्था मंगलबारबाटै शुरु गर्न आह्वान गर्न सक्नेछिन्।

यद्यपि प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बाहिरिने प्रक्रिया यो साता शुरु हुनेछैन।

र, प्रधानमन्त्रीले आफ्नो देश युरोपेली संघबाट बाहिरिन चाहेको आशयबारे पनि यो महिनाको अन्त्यमा मात्रै संघलाई औपचारिक जानकारी गराउने ठानिएको छ।

तस्वीर कपीराइट PA

संघार

त्यसैले दुई वर्ष लाग्ने ठानिएको यो प्रक्रिया त्यसपछि नै शुरु हुनेछ।

ब्रेक्जिट मन्त्री डेभिड डेभिसले युरोपेली संघ छोड्ने सरकारको प्रतिबद्धतालाई संसदले साथ दिएको बताउँदै यो पुस्ताकै सबैभन्दा महत्वपूर्ण वार्ता गर्ने संघारमा आफ्नो देश रहेको बताए।

युरोपेली संघ छोड्ने सम्बन्धी विधेयकको पक्षमा २ सय ७४ मत र विपक्षमा १ सय १८ मत खसेपछि विना संशोधन यो विधेयक पारित भएको हो।

ब्रेक्जिटको वकालत गर्नेहरुले ब्रिटेन सरकारलाई औपचारिक वार्ताका लागि स्पष्ट जनादेश दिएको भन्दै त्यसको स्वागत गरेका छन्।