‘चीनसंग सम्झौता कार्यान्वयनमा आनाकानी छैन’

  • 15 मार्च 2017
नेपाल चीन सीमा

पूर्ववर्ती सरकार प्रमुखले चीनसंग गरेका पारवहन तथा यातायात जस्ता कतिपय महत्वपूर्ण सम्झौताहरुको कार्यान्वयन प्रकृया जारी रहेको सरकारी अधिकारीहरुले बताएका छन्।

तर ठूला ठूला परियोजना भएकाले ती सम्झौता कार्यान्वयनमा समय लाग्ने उनीहरुको भनाइ छ।

चर्चा

प्रधानमन्त्री प्रचण्डले अर्को हप्ता चीन भ्रमण गर्ने र केही नयाँ सम्झौता गर्ने तयारी भइरहेको भनिएको बेला पुराना सम्झौताहरुको विषय उठेको हो।

पूर्व प्रधानमन्त्री केपी ओलीले एक वर्ष अगाडि चीन भ्रमणका बेला गरेको पारवहन तथा यातायात सम्झौताको निकै चर्चा भएको थियो।

दिर्घकालीन रुपमा नेपाललाई फाइदा पुग्ने बताइएको त्यतिबेला गरिएको १० बुंदे सम्झौतामा चीनको सहयोगमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्नेदेखि लिएर व्यापार प्रवर्द्धनको सम्भावना समेतका विषयहरु थिए।

तर वर्ष दिन वितिसक्दासम्म ती विषयहरुको कार्यान्वयनमा ठोस प्रगति हुन सकेको देखिएको छैन।

पारवहन सम्झौताको प्रोटोकल अर्थात कार्यविधिको विषयमा ल्हासामा एकपटक चिनियाँ पक्षसंग वार्ता भएपनि नेपालमा गर्ने भनिएको अर्को चरणको वार्ता हुन नसकेको वाणिज्य मन्त्रालयले जनाएको छ।

ल्हासाको बैठकमा नेपाली टोलीको नेतृत्व गरेका सहसचिव रविशंकर सैंजुले आफू चिनियाँ टोलीको नेपाल भ्रमणको पर्खाइमा रहेको बताए।

'आनाकानी छैन'

उनले भने, "विभिन्न चरणमा छलफल गर्दै एउटा मस्यौदा तयार गरिएको छ। उच्च तहबाट त्यसलाई पारित गरिनु पर्छ। चिनियाँ टोली यहाँ आएपछि थप कुराकानी हुन्छ। उनीहरु मे वा जून महिनामा आउने कुरा छ। हामी आफ्नो काम गर्दैछौं।"

वर्तमान सरकार अधिकारीहरुको भनाइ छ, पूर्ववर्ती सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न कुनै आनाकानी गरिएको छैन।

तर रेलमार्ग निर्माण गर्ने र चीनको बाटो प्रयोग गरेर अन्य देशसंग व्यापार गर्ने जस्ता ठूला विषयमा सडक सञ्जालको आवश्यकता पर्ने हुनाले तिनको कार्यान्वयनका लागि समय लाग्ने परराष्ट्र मन्त्री प्रकाशशरण महतको भनाइ छ।

उनले भने, "दुई देशबिचको जतिपनि संयन्त्र छन् तिनको बैठक निरन्तर रुपमा बस्न थाल्यो भने यी विषयको टुंगो लाग्छ। तर सडकदेखि रेल्वेसम्म बन्नका लागि भने धेरै वर्ष काम गर्नुपर्छ।"

पूर्व प्रधानमन्त्री ओलीले चीन भ्रमण गरेको ठ्याक्कै एकवर्ष पुगेको बेला प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको तयारी गरेको बताइएको छ।

भ्रमणलाई औपचारिक बनाउने प्रयास भइरहेको र त्यतिबेला नयाँ सम्झौता गरिने सम्भावना रहेको पनि बताइन्छ।