सिरिया: युद्धग्रस्त क्षेत्रमा राहत सामाग्री

  • 15 मार्च 2017
सिरिया तस्वीर कपीराइट ICRC

सरकार समर्थित फौज र विद्रोही दुवैद्वारा घेराबन्दीमा पारिएका ती शहरमा औषधि र खाना बोकेका ट्रकहरु पुगेको बताइएको छ।

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसी र राष्ट्रसंघका अनुसार गत नोभेम्बरयता विभिन्न चार सिरियाली शहरमा राहत बोकेका सवारी साधन जान सकेका थिएनन्।

डमास्कसको बाहिरी इलाकामा पर्ने मदाया र जबादानी सरकारसमर्थित फौजको घेराबन्दीमा छ।

इडलिब प्रान्तका फौआ र कफ्रायालाई भने विद्रोहीहरुले घेरा हालेर बसेका छन्।

कठिन

ती चारवटै क्षेत्रमा औषधि र खाना बोकेका ट्रकहरु पुगेको आइसीआरसीका प्रमुखले जानकारी दिएका छन्।

ती राहत सामाग्री उक्त क्षेत्रका करिब ६० हजार मानिसका लागि लक्षित रहेको बताइएको छ।

तस्वीर कपीराइट EPA/SYRIAN ARAB RED CRESCENT

यसअघि गत महिना राहत सामाग्री बोकेका २० वटा ट्रक पठाइदिन आग्रह गरेको मानवीय सहायतासम्बन्धी राष्ट्रसंघीय संयोजक केभिन केनेडीले बताए।

उनका अनुसार त्यतिबेला एउटा पनि ट्रक प्रभावित क्षेत्रमा पुगेको थिएन।

घेराबन्दीमा परेका क्षेत्रमा राहत सामाग्री नियमित रुपमा पुर्याउने योजना राष्ट्रसंघले गत वर्ष नै बनाएको थियो।

तर युद्धरत पक्षहरु भने असाध्यै कठिन अवस्थामा रहेका स्थानमा मात्रै त्यसो गर्न राजी भएका थिए।