युरोपेली नेताद्वारा टर्कीको भर्त्सना

  • 15 मार्च 2017
रोटरड्याम घटना तस्वीर कपीराइट AFP

युरोपेली संघका नेताले जर्मनी र द नेदरल्याण्ड्सको व्यवहारलाई नाजीको व्यवहारसँग तुलना गर्ने टर्कीको व्यवहारको कडा शब्दमा भर्त्सना गरेका छन्।

ईयु र टर्कीबीचको पछिल्लो तनावको असर बुधबार द नेदर्ल्याण्डसमा भैरहेको चुनावमा पर्न सक्ने देखिएको छ।

युरोपेली परिषदका प्रमुखले रोटर्ड्याम विवादलाई लिएर टर्कीको आलोचना गरेका छन्।

टर्कीका राष्ट्रपतिले द नेदरल्याण्ड्सको आलोचना जारी राखेका छन्।

तनावको कारण

युरोपेली संघ ईयु आबद्ध देशहरुले द नेदर्ल्याण्ड्सको रोटरड्याम नगरमा टर्कीका मन्त्रीहरुले सम्बोधन गर्ने एक कार्यक्रम रद्द गरी दिएपछि टर्की र द नेदरल्याण्ड्का नेताहरुबीचको तनाव चुलिएको हो।

युरोपेली परिषदका अध्यक्ष डोनल्ड टुस्कले युरोपेली संसदमा बोल्दै शनिबार रोटर्ड्याममा भएको घटनामा फासीवाद देख्ने मानिस यथार्थबाट टाढा भएको टिप्पणी गरे।

त्यहाँ डच प्रहरी र टर्कीका प्रदर्शनकारीबीच भिडन्त समेत भएको थियो।

विवाद जारी

युरोपेली आयोगका प्रमुख जँ क्लड युंकरले चाहिँ टर्कीलाई ईयुबाट टाढा धकेल्ने गरी गरिएका टिप्पणीका कारण आफू तरङगित भएको बताए।

टर्कीका राष्ट्रपति रेजेप तायीप एर्दोआनले द नेदर्ल्याण्ड्सविरुद्धको आलोचना जारी राखेपनि उनका उपप्रधानमन्त्रीले अहिलेको तनावले डच जनता र व्यापारीसँगको सम्बन्ध नबिग्रने बताएका छन्।

टर्कीसँगको बढ्दो तिक्ततामाझ द नेदर्ल्याण्ड्समा भने मतदाताहरु चुनावमा भाग लिइरहेका छन्।

यो चुनावमा परंपरावादी शक्तिलाई इयुविरोधी दलले कडा चुनौती दिइरहेका छन्।