‘भूकम्पपीडितलाई सार्वजनिकस्थलबाट हटाइँदै’

  • 16 मार्च 2017
भूकम्पपीडित

विनाशकारी भूकम्पपछि राजधानीको बौद्ध क्षेत्रमा बस्दै आएका भूकम्पपीडितलाई हालसालै हटाएको सरकारले राजधानीका अन्य सार्वजनिक स्थानमा बस्दै आएका त्यस्तै पीडितहरुलाई हटाउने तयारी गरिरहेको एक अधिकारीले बताएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार काठमाण्डूका विभिन्न सार्वजनिक स्थानमा सयौंको संख्यामा भूकम्पपीडितहरु बस्दै आएका छन्।

तर मंगलबार अस्थायी टहरा भत्काएर हटाइएका पीडितहरुले सरकार आफूहरुप्रति क्रूर रुपमा प्रस्तुत भएको गुनासो गरेका छन्।

नीति

भूकम्पपछि बौद्धक्षेत्रको चुच्चेपाटीको चौरमा अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितले सरकारी सूचना अटेर गरेकाले उनीहरुलाई हटाइएको सरकारी भनाइ छ।

काठमाण्डूका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीका अनुसार भौगोलिक दृष्टिले जोखिममा रहेका बाहेक अन्य सार्वजनिक स्थलमा अस्थायी टहरामा बसिरहेका भूकम्पपीडितलाई हटाउने नीति सरकारले लिएको छ।

उनले भने, "पहिचान गरेर हटाउनेमा तयारीमा छौं। सरकारले वितरण गरिरहेको राहत लिन गाउँमा जानुपर्छ र त्यही घर बनाउनुपर्छ। भूकम्पपीडितको नाममा सार्वजनिकस्थलमा सधैं बस्ने भन्ने कुरा मिल्दैन"।

काठमाण्डूका प्रमुख जिल्ला अधिकारी दवाडीका अनुसार चुच्चेपाटी पछि पशुपति क्षेत्र र अन्य स्थानका सार्वजनिक स्थलमा टहरामा बसिरहेका भूकम्पपीडितलाई हटाउने तयारी तीव्र बनाइएको छ।

गुनासो

भूकम्पपीडितहरुले भने आफूहरुलाई सरकारले जबर्जस्ती बेघर बनाएको भन्दै गुनासो गरेका छन्।

मंगलबार चुच्चेपाटीस्थित आफ्नो टहरामा डोजर चलाइँदा जेठी तामाङ आफ्ना दुई छोरीहरुलाई खाना खुवाउँदै थिइन्।

अहिले आफू बासको खोजीमा रहेको उनले बताइन्।

उनले भनिन्, "अरु मान्छेको घरको भर्याङ्मा बसिरहेका छौं। अब कोठा लिएर बस्ने भने त पाइन्छ तर घरभेटीले अगाडि नै पैसा माग्छन्"।

चुच्चेपाटीस्थित अस्थायी शिविरमा बसिरहेका सबै परिवार भूकम्पपीडित नभएको सरकारी भनाइ छ।

तर स्थानीयवासीको भनाइमा त्यहाँ भूकम्पपीडितसहित आगलागी बाढी र पहिरोबाट पीडित भएकाहरु पनि बस्दै आएका थिए।