‘चुनावमा सहयोग गर्ने मोदीको वचन’

  • 18 मार्च 2017
गृहमन्त्री निधि र भारतीय प्रम मोदी तस्वीर कपीराइट MEA India

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा आवश्यक सहयोग गर्ने वचन दिएको उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिका एकजना सल्लाहकारले जनाएका छन्।

'संविधानलाई लिएर नेपालमा उत्पन्न असन्तुष्टि हरेक समुदायको सहभागितामा सुल्झाउनु पर्ने' अडान दर्शाउँदै आएको भारतले जारी गरेको विज्ञप्तिमा भने त्यसबारे केही उल्लेख छैन।

भारत भ्रमणका क्रममा उपप्रधानमन्त्री निधिले भारतीय समकक्षी विदेशमन्त्री र अन्य उच्च अधिकारीसँग भेटघाट गरेका थिए।

काठमाण्डू फर्किनु अघि उपप्रधान एवं गृहमन्त्री निधिले शुक्रबार साँझ भारतीय प्रधानमन्त्री मोदीसँग करीब आधा घण्टा भेटवार्ता गरेका थिए।

बन्दोबस्ती

गृहमन्त्री निधिले चुनावमा आवश्यक बन्दोबस्ती लगायतका सामान सहयोग गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले दिल्लीबाट बीबीसीलाई जानकारी दिए।

दाहालले भने, "भारतीय प्रधानमन्त्री मोदीले विगतको संविधानसभा चुनावमा पनि भारत सरकारले गृहमन्त्रालय र निर्वाचन आयोगलाई बन्दोबस्तीका सामग्री सहयोग गरेको स्मरण गर्दै यसपटक पनि सहयोग गर्न तयार रहेको बताउनुभयो।"

भारतले नेपालको संविधानप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको असन्तुष्टिमा स्वर मिलाएको थियो।

मोर्चाले संविधान संशोधन नगरेसम्म चुनावमा भाग नलिने मात्र होइन हुन नदिने चेतावनी पनि दिने गरेको छ।

अर्थ

यस्तो स्थितिमा भारतले चुनावी सहयोग गर्ने भनेर नेपाल सरकारको चुनावी मार्गचित्रमा उसले समर्थन गर्ने जनाएको हो?

गृहमन्त्री निधिका प्रेस सल्लाहकार दाहालको जवाफ थियो, "तीनवटै चुनाव सम्पन्न गर्नुपर्ने जुन बाध्यता छ, त्यो निर्धारित मितिमा गर्ने विषयमा पनि उहाँहरुबीच कुराकानी भयो।"

तर भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा चुनावबारे कुनै कुरा उल्लेख गरिएको छैन।

निधिले नेपालको पछिल्लो विकाशक्रमबारे मोदीलाई जानकारी गराएको उल्लेख गरिएको विज्ञप्तिका अनुसार प्रधानमन्त्री मोदीले द्वीपक्षीय सम्बन्ध थप सुदृढ गराउन भारत सरकार पूर्ण प्रतिवद्ध रहेको बताएका थिए।

भारतीय विज्ञप्तिमा उल्लेख नगरिएको अर्को प्रसंग कञ्चनपुर घटनाबारे प्रधानमन्त्री मोदीले छानबीन गरेर दोषीमाथि कारवाही गर्ने विश्वास दिलाएको नेपाली अधिकारीको भनाई छ।